विश्वकप छनोटमा फ्रान्स, इटालीलाई सफलता

पेरिस, २१ भदौ । किलियन एमबापेको गोलको सहयोगमा फ्रान्सले शुक्रबार युक्रेनलाई २–० ले हराएर विश्वकप फुटबल छनोटमा विजयी सुरुआत गरेको छ ।

खेलको ८२ औँ मिनेटमा एमबापेले अन्तिम गोल गरे । यसअघि खेलको दशौा मिनेटमा माइकल ओलिसको गोलको सहयोगमा फ्रान्सले अग्रता बनाएको थियो । फ्रान्स गत सत्रमा उपविजेता बनेको थियो । सन् २०२२ मा भएको फाइनलमा एमबापले ह्याट्रिक गरे पनि फ्रान्स अर्जेन्टिनासँग पराजत भएको थियो । यस समूहअन्तर्गत भएको अर्को खेलमा आइसल्यान्डले अजरवैजानलाई ५–० ले हरायो ।

सन् २०१४ पछि विश्वकपमा चयन हुन नसकेको इटालीले घरेलु मैदानमा इस्टोनयालाई ५–० ले हराएर प्रभावशाली सुरुआत गर्यो । विश्वकप छनोटमा स्विट्जरल्यान्ड र ग्रीसले पनि सफलता पाए ।

स्विट्जरल्यान्डले कोसोभोलाई ४–० र ग्रीसले बेलारसलाई ५–१ ले पराजित गरे । स्वीडेन दुई पटक अग्रता बनाएर पनि स्लोभेनियासँग २–२ ले बराबरीमा रोकियो । विश्वकपका पछिल्ला दुई सस्करणमा सेमिफाइनलसम्मको यात्रा गरेको क्रोसियाले फारोइ आइल्यान्डलाई बल्लतल्ल १–० ले हरायो । क्रोसियाको यो लागतार तेस्रो जित हो । सो समूहमा शीर्ष स्थानमा रहेको चेक गणतन्त्रले मोन्टेनेग्रोमा २–० ले जित हात पार्यो । यसैगरी डेनमार्कलाई उसकै मैदानमा स्कटल्यानडले गोलरहित बराबरीमा रोक्यो ।