उपप्रधानमन्त्री सिंहद्वारा निजामती विधेयक छिट्टै पारित गर्ने प्रतिबद्धता

काठमाडौँ, २२ भदौ । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले सङ्घीय निजामती सेवासम्बन्धी विधेयक यथाशक्य छिटो पारित गरी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

निजामती सेवा दिवस–२०८२ का अवसरमा निजामती सेवा दिवस मूल समारोह समितिले आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “तहगत प्रशासनिक अन्तर सम्बन्धलाई बलियो बनाउँदै प्रशासनिक सङ्घीयतालाई सुदृढ तुल्याउन कोशेढुङ्गाका रुपमा अपेक्षा गरिएको सङ्घीय निजामती सेवासम्बन्धी विधेयकलाई सङ्घीय संसद्बाट यथाशक्य छिटो पारित गराई कार्यान्वयन गराउनेतर्फ सरकार प्रतिबद्ध रहेको छ ।”

उहाँले आमकर्मचारीको माग र भावनालाई समावेश गरी राजनीतिक दलहरुको सहमतिबाट संसद्ले निजामती विधेयक पारित गर्ने विश्वास व्यक्त गर्नुभयो । एकताबद्ध हुँदै विकास, समृद्धि र सुशासनको मार्गमा अग्रसर हुन र व्यावसायिक तथा सिर्जनशील प्रशासनमा लाग्न राष्ट्रसेवक निजामती कर्मचारी प्रतिबद्ध हुनुपर्ने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “शासन व्यवस्थाको मेरुदण्डका रुपमा रहेको निजामती सेवा राष्ट्र निर्माणको एक अभिन्न अङ्ग हो, विकास, सुशासन र सेवा प्रवाहलाई प्रधावकारी रुपमा कार्यान्वयन गर्ने दायित्व पनि निजामती सेवाकै काँधमा रहेको छ ।”

उपप्रधानमन्त्री सिंहले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै लोकतन्त्रका लाभहरुको वितरण गर्ने तथा राज्यप्रति नागरिकको भरोसा र विश्वास अभिवृद्धि गर्न निजामती सेवाको भूमिका अति महत्वपूर्ण हुने पनि बताउनुभयो ।

उहाँले नागरिकले विकास र सुशासनको अपेक्षा गरिरहेका सन्दर्भमा निजामती सेवाले त्यसअनुरुप आफ्ना लागि समायोजन, अनुकूलन र परिस्कृत गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

मुलुकले लिएको दीर्घकालीन लक्ष्य, आवधिक योजना, सरकारको नीति तथा कार्यक्रमका साथै चालु आर्थिक वर्षको बजेटलाई केन्द्रमा राखेर कार्यसम्पादन गर्ने निजामती सेवाको मुख्य जिम्मेवारी भएको उल्लेख गर्दै उहाँले नेपालको संविधानको मर्म र भावनालाई आत्मसात गरी सङ्घीयताको प्रभावकारी कार्यान्वयन, सार्वजनिक सेवा प्रवाहमा सुधार र प्रष्टाचार शून्य सहनशीलताको नीतिलाई केन्द्रमा राखी सरकार अगाडि बढिरहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *