गाडीको ठक्करबाट राष्ट्रियसभा सदस्य गैरे घाइते
काठमाडौँ, कात्तिक २० । सिंहदरबार परिसरभित्र गाडीको ठक्करबाट राष्ट्रियसभा सदस्य राजेन्द्रलक्ष्मी गैरे घाइते हुनुभएको छ ।
आज सिंहदरबारभित्र जेब्रा क्रसिङबाट बाटो काट्ने क्रममा बा १७ च ८८०७ नम्बरको गाडीले ठक्कर दिँदा गैरे घाइते हुनुभएको हो ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरीका प्रवक्ता नरेशराज सुवेदीका अनुसार घाइते गैरेलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टरमा पुर्याइएको छ । ठक्कर दिने गाडीले नै उहाँलाई उपचारका लागि अस्पताल पुर्याएको प्रहरीले जनाएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट राष्ट्रियसभा सदस्य रहनुभएकी गैरेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
