जेनजीकाे नाममा आगो लगाउनेहरू नै सफाइ गर्छौं भन्दै आएपछि चितवनका सीडीओले राेके
चितवन, ३० भदौ । जेनजी प्रर्दशनकारीका नाममा चितवनमा गत २४ भदौमा आगो लगाएर अधिकांश सरकारी कार्यालय, पालिका तथा वडा कार्यालय भवनहरू जलाएका छन् ।
प्रर्दशनकारीहरूले जिल्ला प्रशासन कार्यालय चितवनबाट सरकारी भवन जलाउने कामको सुरुवात गरेपछि विभिन्न सरकारी कार्यालय ध्वस्त हुनेगरी जलाएका थिए ।
जिल्ला प्रशासन कार्यालयसँगै रहेको जिल्ला निर्वाचन कार्यालयको भवन, मालपोत कार्यालय, नापी कार्यालयलगाएत भवनहरू पूर्ण रूपमा जलेका छन् ।
जिल्ला प्रशासन कार्यालयले प्रर्दशनकारीहरू केही परिचित अनुहार छन भने केही दलमा सक्रिय भएका कार्यकर्ता पनि रहेकाे जनाएकाे छ
जिल्ला प्रशासन कार्यालयले आगो लगाएर भवन जलाउन आउनेहरू नै २६ भदौमा भवन सरसफाइ गर्छौं भन्दै आएपछि रोक लगाएको छ ।
जलेका सरकारी भवनहरूको सरसफाइ कर्मचारी, सुरक्षाकर्मी भन्दा बाहेक अन्यलाइ गर्न नदिने निर्णय गरिएको चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए ।
उनका अनुसार सरकारी कार्यालय जलाउँदै हिड्नेहरूले भोलि हुनसक्ने सम्भावित कारबाहीबाट जोगिन यस्तो उपाय रचेको हुनसक्ने बताए ।
विभिन्न सरकारी कार्यालय तथा निजी भवनमा क्षति गर्नेहरूको विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका एक अधिकृतले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय चितवन र इलाका प्रहरी कार्यालय माडी बाहेकका अधिकांश प्रहरी संरचनामा क्षति भएको प्रहरीले जनाएको छ । प्रहरीको एक हतियार अझै पनि हराइरहेको चितवनका प्रहरी प्रमुख एसपी गोविन्द पुरीले जानकारी दिए ।
हतियार राख्ने व्यक्तिको नजिकै प्रहरी पुगेको र केही दिनमा नै नियन्त्रणमा लिइने प्रहरीले जनाएको छ ।