जेनजी आन्दाेलनले जिडिपीको पाँच प्रतिशतमा क्षति पुगेको सिएनआईकाे भनाइ

काठमाडौँ, ९ असोज । जेनजी आन्दोलनका क्रममा भएको तोडफोड तथा आगजनीका कारण कुल गार्हस्थ उत्पादन (जिडिपी)को करिब पाँच प्रतिशत क्षति पुगेको नेपाल उद्योग परिसङ्घ (सिएनआई)का अध्यक्ष वीरेन्द्रराज पाण्डेले बताउनुभएको छ ।

आज नेपाल आर्थिक पत्रकार समाज (सेजन)को नयाँ कार्यसमितिलाई स्वागत गर्ने क्रममा उहाँले कुनै पनि आन्दोलनमा निजी क्षेत्रमाथिको आक्रमण हुनु दुःखद् भएको समेत उल्लेख गर्नुभयो । “पछिल्लो आन्दोलनमा निजी क्षेत्रमा ठूलो क्षति भएको छ, मुलुकको अर्थतन्त्रमा निजी क्षेत्रको उल्लेख्य योगदान रहँदा पनि यसमाथि निरन्तरको आक्रमण रोक्न सकिएको छैन”, उहाँले भन्नुभयो, “आन्दोलनका क्रममा जिडिपीको पाँच प्रतिशतमा क्षति पुगेको प्रारम्भिक आकलन छ ।”

अध्यक्ष पाण्डेले नागरिक समाज, राजनीतिकर्मी र सर्वसाधरणमा निजी क्षेत्रले पु¥याएको योगदानबारे अझै पनि बुझाउन नसकिएको बताउनुभयो । “जबसम्म आम मानिसमा निजी क्षेत्रप्रतिको धारणा परिवर्तन गर्न सकिन्न, तबसम्म समस्या रहिरहन्छ, उद्यमशीलता बढाउने, त्यसतर्फ युवालाई केन्द्रित गर्ने विषयमा हाम्रो ध्यान केन्द्रित हुन जरुरी छ”, उहाँले भन्नुभयो ।

उहाँले आन्दोलनका कारण लगानीकर्तामा संशय उत्पन्न भएको उल्लेख गर्दै अब लगानीमैत्री वातावरण बनाउन सरकारको ध्यान जानुपर्नेमा समेत जोड दिनुभयो ।

त्यस अवसरमा सिएनआईका निवर्तमान अध्यक्ष राजेशकुमार अग्रवालले मूल्य अभिवृद्धि कर (भ्याट)लाई बहुदरमा लैजान आवश्यक रहेको धारणा राख्नुभयो । “हामीले अध्ययन गरेर सरकारलाई भ्याटमा बहुदर कायम गर्न सुझाव दिएका थियौँ, पाँच, आठ र १३ प्रतिशत गरी भ्याटलाई बहुदरमा लैजान सकिन्छ भन्ने हाम्रो सुझाव थियो”, उहाँले भन्नुभयो ।

सिएनआई कोशी प्रदेशका अध्यक्ष पवनकुमार शारडाले सरकारले नीति बनाउँदा सबै क्षेत्रलाई समेट्न जरुरी रहेको बताउनुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *