नेपालद्वारा वेस्ट इन्डिजलाई १७४ रनको लक्ष्य

शारजाहा, १३ असोज । युनिटी कपअन्तर्गत दोस्रो टि२० अन्तर्राष्ट्रिय खेलमा नेपालले मङगलबार वेस्ट इन्डिजविरुद्ध पहिले ब्याटिङ गरी निर्धारीत २० ओभरमा छ विकेटको क्षतिमा १७३ रन बनाएको छ ।
शारजाहा अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गरेको थियो । प्रारम्भिक ब्याट्सम्यान अािसफ शेखले आउट नभइकन ६८ रन बनाए । उनले ४७ बलको सामना गरी आठ चौका र दुई छक्का प्रहार गरे ।
आसिफले सन्दिप जोरासँग मिलेर चौथो विकेटका लागि १०० रनको साझेदारी गरेपछि नेपालको पालि राम्रो भएको हो । जोरा ३९ बलमा ६३ रन बनाएर आउट भए । उनको पालिमा पाँछ छक्का र तीन चौका सामेल थियो । जोराले ३४ बलमा अर्धशतक छोएका थएि । जेडिया ब्लेड्सको बलिङमा जोरा नवीन विदइसीद्वारा क्याच आउट भएका हुन् ।
नेपालको सुरुआत भने कमजोर रह्यो । प्रारम्भिक ब्याट्सम्यान कुशल भुर्तेल २ रनमा वेस्ट इन्डिजका कप्तान अकिल हुसेनको बलिङमा एलबीडब्ल्यू आउट भए । पछिल्लो खेलमा सर्वाधिक स्कोर बनाउने नेपालका कप्तान रोहित पौडेल चौथो ओभरमा विपक्षी कप्तान हुसेनकै शिकार बने । रोहितले दस बलमा मात्र ३ रन बनाए । त्यसपछि कुशल मल्ल ७ रनमा रनआउट हुँदा नेपालको स्थिति ६.४ ओभरमा ४३ रनमा तीन विकेट भएको थियो । आदिल आलमले पाँच बलमा एक छक्कासहित ११ रन बनाए । गुलसन झा भने छ रनमा आउट भए ।
वेस्ट इन्डिजका लागि स्पीनर हुसेनले चार ओभरमा २१ रन खर्चेर दुई विकेट लिए । कायल मेयर्सले पनि दुई विकेट हासिल गरे ।
युनिटी कपअन्तर्गत तीन खेलको शृङ्खलामा नेपाल १–० ले अगाडि छ । आजको खेल जितेमा नेपालले शृङ्खला हात पार्नेछ ।