वेस्ट इन्डिजविरुद्धको शृङ्खला जितेर नेपालले बनायो इतिहास
शारजाहा, १३ असोज । युनिटी कपअन्तर्गत दोस्रो टि२० अन्तर्राष्ट्रिय खेलमा नेपालले मङगलबार वेस्ट इन्डिजलाई ९० रनले हराएर इतिहास बनाएको छ । वेस्ट इन्डिज सन् २०१२ र २०१६ मा टि२० विश्वकप जित्ने टिम हो ।
शारजाहा अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरी निर्धारीत २० ओभरमा छ विकेटको क्षतिमा १७३ रन बनाएको थियो । वेस्ट इन्डिज जवाफमा १७.१ ओभरमा ८३ रनमा अलआउट भयो ।
दुई दनअघि पहिलो खेलमा वेस्ट इन्डिजलाई १९ रनले हराएर नेपालले आफ्नो क्रिकेटको इतिहासमागौरवशाली अध्याय थियो । नेपालले पहिलो पटक आइसीसीको पूर्णं सदस्य राष्ट्रलाई हराएको थियो । दोस्रो खेल जितेर नेपालले पहिलो पटक टेस्ट मान्यताप्राप्त राष्ट्रसँग द्विपक्षीय शृङ्खला जितको गौरव पनि हासल गरेको छ । नेपाल पहिलो पटक आइसीसीको पूर्णं सदस्य राष्ट्रसँग खेल्दैछ । अब नेपालले मङगलबार तेस्रो खेल जितेर शृङ्खला क्लिन स्वीप गर्ने प्रयास गर्नेछ ।
प्रारम्भिक ब्याट्सम्यान अािसफ शेखले आउट नभइकन ६८ रन बनाए । उनले ४७ बलको सामना गरी आठ चौका र दुई छक्का प्रहार गरे ।
आसिफले सन्दिप जोरासँग मिलेर चौथो विकेटका लागि १०० रनको साझेदारी गरेपछि नेपालको पालि राम्रो भएको हो । जोरा ३९ बलमा ६३ रन बनाएर आउट भए । उनको पालिमा पाँछ छक्का र तीन चौका सामेल थियो । जोराले ३४ बलमा अर्धशतक छोएका थएि । जेडिया ब्लेड्सको बलिङमा जोरा नवीन विदइसीद्वारा क्याच आउट भएका हुन् ।
नेपालको सुरुआत भने कमजोर रह्यो । प्रारम्भिक ब्याट्सम्यान कुशल भुर्तेल २ रनमा वेस्ट इन्डिजका कप्तान अकिल हुसेनको बलिङमा एलबीडब्ल्यू आउट भए । पछिल्लो खेलमा सर्वाधिक स्कोर बनाउने नेपालका कप्तान रोहित पौडेल चौथो ओभरमा विपक्षी कप्तान हुसेनकै शिकार बने । रोहितले दस बलमा मात्र ३ रन बनाए । त्यसपछि कुशल मल्ल ७ रनमा रनआउट हुँदा नेपालको स्थिति ६.४ ओभरमा ४३ रनमा तीन विकेट भएको थियो । आदिल आलमले पाँच बलमा एक छक्कासहित ११ रन बनाए । गुलसन झा भने छ रनमा आउट भए ।
वेस्ट इन्डिजका लागि स्पीनर हुसेनले चार ओभरमा २१ रन खर्चेर दुई विकेट लिए । कायल मेयर्सले पनि दुई विकेट हासिल गरे ।
करीब तीन वर्षपछि अन्तर्राष्ट्रिय क्रिकेटमा फर्केका आदिलले चार ओभरमा २४ रन खर्चेर चार विकेट लिएपछि वेस्ट इन्डिजको पालि धाराशायी भयो । यसैगरी कुशल भुर्तेलले तीन तथा ललित राजवंशी, दिपेन्द्रसिंह ऐरी र करण केसीले एक–एक विकेट लिए ।
वेस्ट इन्डिजका लागि जेसन होल्डरले १५ बलमा र्वाधिक २१ रन बनाए । दोहोरो अङ्कमा रन बनाउने अन्य ब्याट्सम्यानमा अकिम अगस्टी (१७), अमिर जाङ्गु (१६) रन थिए ।