नवरात्रिकाे मेला लाग्ने टेकू दोभान, जस्लाइ त्रिवेणी पनि भनिन्छ
काठमाडाैं, १४ असोज । नवरात्रिकाे मेला लाग्ने काठमाडौंका विभिन्न नदीहरु मध्य टेकू दोभान पनि एक हाे । विभिन्न दोभानहरु मध्ये दक्षिणतिर रहेको टेकू दोभान सम्भवतः सबैभन्दा ठूलो दोभान पनि हो ।
यो दोभानमा काठमाडौंका दुई महत्वपूर्ण नदीहरु बागमती र बिष्णुमती एक आपसमा जोडिन्छ । यहाँ कनकमणि नामक अर्को नदी पनि मिसिने भएकोले टेकू दोभानलाई त्रिवेणी पनि भन्ने गरिन्छ ।
आज नवरात्रिको आठौं दिन टेकू दोभानमा रहेको यही तीर्थमा स्नान गरिन्छ । यो तीर्थलाई चिन्तामणि तीर्थ नामाकरण गरिएको छ । हाल यो तीर्थ काठमाडौं महानगरपालिकाको वडा नं. १२ अन्तर्गत रहेको छ ।
यो नदीमा मिसिएपछि काठमाडौंको बिष्णुमती नदी पनि सकिन्छ । यसपछि बागमती नामले एउटै मात्र नदी अघि बढ्छ । यो बागमती नदी चोभारको गल्छी पुगेपछि काठमाडौं छोडेर तराईतिर बग्न थाल्छ ।
काठमाडौं नगरका तीन प्रमुख घाटहरु मध्ये एक टेकू दोभान पनि हो । बाँकी दुई घाट पूर्वको आर्यघाट र पश्चिमको कर्णदीप मानिन्छ । टेकू दोभानमा धेरै घाट, मन्दिर, सत्तल, फल्चाहरु निर्माण भएको पाइन्छ ।
यो तीर्थमा सेतो वर्णका वरुण नागराजको बास रहेको मानिन्छ । यो तीर्थमा स्नान गर्नाको फलस्वरुप धन सम्पत्ति प्राप्त हुने विश्वास रहेको छ ।
काठमाडौंको अत्यन्त महत्वपूर्ण तीर्थ भए पनि हाल भने यो विजोग अवस्थामा रहेको पाइन्छ । कुनै बेला यहाँ बागमती नदी पनि यति बेगले बग्थ्यो कि त्यसले कति मानिसलाई बगाएको समेत थियो ।
अहिले यस नदीको चौडाइ आधाभन्दा कम भइसकेको छ भने नदीमा बनाइएको पुरानो घाट, सिँढीहरु समेत त्यसै अलपत्र अवस्थामा रहेको देख्न सकिन्छ ।
नवरात्रिको आठौं दिन यो तीर्थमा स्नान गरी बाटैमा रहेको नैं अजिमा पीठमा पूजा गरिन्छ । हाल बागमती र बिष्णुमती दुवै नदीमा फोहोर पानी बग्ने भएकोले यो तीर्थमा पनि स्नान गर्न सकिने अवस्था छैन ।
हाल यहाँ नुहाउनका लागि पहिलेको नदीले छोडेको खाली ठाउँमा ट्यूबवेलले पानी तान्ने व्यस्था गरिएको छ । यो दोभानको संरक्षण गर्न अत्यावश्यक छ, याे लाेप हुने अवस्थामा पुगेकाे स्थानीयहरू बताउँछन् ।
