विश्वकप २०२६ छनोट फाइनल खेल्न नेपाल ओमानमा, सन्दीप दुई खेलको निलम्बनमा

काठमाडौँ, १६ असोज । आईसीसी टी–२० विश्वकप २०२६ को एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट फाइनल खेल्न नेपाली टोली संयुक्त अरब इमिरेट्स (युएइ)बाट ओमान पुगेको छ ।

युएइमा नेपालले टेस्ट मान्यताप्राप्त वेस्ट इन्डिजसँगको तीन खेलको शृङ्खला २–१ ले जितेर इतिहास कायम गरेको थियो । वेस्ट इन्डिजविरुद्ध खेलेको अपरिवर्तित १६ सदस्यीय टिमनै ओमान पुगेको छ । ओमान जाने टोलीमा सन्दीप लामिछाने पनि रहेका छन् ।

सन्दीप वेस्ट इन्डिजविरुद्धको शृङ्खलाअन्तर्गत तीन खेलमा सहभागी भएका थिएनन् । नेपाल क्रिकेट संघ (क्यानले प्रेस विज्ञप्ति जारी गर्दै पहिलो खेलमा ४५ मिनेटअघि सन्दीपले नखेल्ने बताएपछि उनलाई कारवाही स्वरुप बाँकी दुई खेलमा निलम्बन गरिएको जनाएको छ ।

टी–२० विश्वकप छनोट आगामी अक्टोबर ८ देखि १७ सम्म हुँदैछ । आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक रिजनल फाइनलमा नौ टोली सहभागी छन् । जसमध्ये शीर्ष तीन टिम विश्वकपमा खेल्न योग्य हुने प्रावधान रहेको छ । नेपालले समूह चरणमा जापान र कुवेतसँग खेल्नेछ ।