च्याम्पियन्स लिगमा पिएसजीद्वारा बार्सिलोना पराजित

बार्सिलोना, १६ असोज । च्याम्पियन्स लिग उपाधि रक्षा अभियानमा रहेको पेरिस सेन्ट जर्मन (पिएसजी) ले बुधबार राति उपाधि दावेदारमध्ये एक बार्सिलोनालाई २–१ ले हराएको छ ।

खेलको ९० औँ मिनेटमा गोन्कालो रामोसले गोल गरेपछि बार्सिलोना स्तब्ध भएको हो । पिएसजीले घाइते स्टार खेलाडी ओसमान डेम्बेले, डिजाइरे डोवे र ख्विचा क्वाराटस्केलिया विना खेलेको थियो । खेलको १९ औँ मिनेटमा फेरान टोरेजको गोलको सहयोगमा बार्सिलोनाले अग्रता बनाएको थियो । खेलको ३८ औँ मिनेटमा सेनी मायुलुले बराबरी गोल गरे ।

अन्य खेलमा म्यान्चेस्टर सिटीले मोनाको र भियारियलले युभेन्टससँग समान २–२ ले बराबरीमा खेले । सो खेलमा मोनोकाको इरिक डायरले ९० औँ मिनेटमा पेनाल्टीमा गोल गरेपछि खेल बराबर भएको हो । सिटीका लागि इर्लिङ हालान्डले दुई गोल गरे । भियारियल युभेन्टसबिचको खेलमा रेनाटो भिगाले अन्तिम समयमा बराबरी गोल गरे ।

सोही राति आर्सनलले ओलम्पिकोसलाई २–० ले पराजित गर्यो । आर्सनलका लािग गाब्रियल मार्टिनेली र बुकायो साकाले गोल गरे । च्याम्पियन्स लिगमा आर्सनलले अहिलेसम्म शतप्रतिशत जितको नतिजा निकालेको छ ।