नेपालको आजबाट तेस्रो पटक टि२० विश्वकप खेल्ने अभियान सुरु

काठमाडौँ, २२ असोज । आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट बुधबार ओमानको मस्कटमा सुरु हुँदैछ । विश्वकपको अन्तिम छनोट सो प्रतियोगितामा पनि नेपालले पनि खेल्दैछ । नेपाल लगातार दोस्रो पटक र समग्रमा तेस्रो पटक आइसिसी टि२० विश्वकप खेल्ने अभियानमा छ ।

विश्वकप छनोटमा नेपालसहित नौ टिम सहभागी छन् । नेपाल समूह बीमा जापान र कुवेतसँग रहेको छ । यसैगरी समूह ‘ए’ मा मलेसिया, कतार र संयुक्त अरब इमिरेट्स तथा समूह समिा ओमान, पपुआ न्युगिनी र सामेआ छन् । प्रत्येक समूहमा शीर्ष दुई स्थानमा रहने टिम सुपर सिक्समा पुग्ने प्रावधान रहेको छ । सुपर सिक्समा शीर्ष तीन स्थानमा रहने टिम विश्वकपमा खेल्न योग्य हुनेछन् ।

यस प्रतियोगिताबाट तीन टिम चयन भएपछि सन् २०२६ मा भारत र श्रीलङकामा हुने टि२० विश्वकपमा खेल्ने सबै राष्ट्रको टुङ्गो लाग्नेछ । सन् २०२६ मा भारत र श्रीलङ्काल संयुक्त रूपमा आयोजना गर्ने विश्वकपमा २० देशको सहभागिता रहने छ । हालसम्म १७ देशले विश्वकप यात्रा पक्का गरिसकेका छन् । विश्वकप आयोजक भारत र श्रीलङ्का आयोजकका हिसाबले सिँधै छनोट भएका छन् । जसमा अस्ट्रेलिया, इङ्ल्यान्ड, दक्षिण अफ्रिका, वेस्ट इन्डिज, अमेरिका, अफगानिस्तान र बङ्गलादेश पनि पछिल्लो विश्वकपको सुपर आठमा खेलेको हिसाबमा सीधै चयन भइसकका छन् । आइसिसीको वरीयताको आधारमा पाकिस्तान, न्युजिल्यान्ड र आयरल्यान्ड विश्वकपमा स्वत छनोट भए ।

अफ्रिकाबाट जिम्बावे र नामिबिया, युरोपबाट नेदरल्यान्ड्स र इटाली विश्वकपमा पुगेका छन् । इटालीले पहिलो पटक विश्वकपमा स्थान बनाएको हो । अमेरिकी छनोटबाट क्यानाडाले विश्वकपमा पुगेको छ ।

कुवेतसँग पहिलो खेल

नेपालले बुधबार कुवेतसँग खेलेर सुरुआत गर्देछ । विश्वकप छनोटको वार्मअपमा कुवेत पनि दुवै खेल जितेकोले नेपाललाई पहिलो खेल सहज भने हुने देखिँदैछ । हेड टु हेडमा पनि यी दुई टिमबिच खासै फरक छैन । पछिल्ला तीन खेलमा नेपाल दुई र कुवेत एकमा विजयी भएका थिए । नेपालले शुक्रबार ४४ औँ वरीयतामा रहेको जापानसँग खेल्नेछ । जापानसँग नेपालको पहिलो भेट हुनेछ । कुवेत र जापान दुवै पहिलो पटक टि२० विश्वकप खेल्ने अभियानमा छन् । नेपालले भने सन् २०१४ र २०२४ मा भएको टि२० विश्वकप क्रिकेट खेलिसकेको छ ।

उच्च मनोबलमा नेपाल

नेपाल क्रिकेट टिम अहिले उच्च मनोबलमा रहेको छ । यस प्रतियोगिताकै तयारीस्वरुप खेलिएको वेस्ट इन्डिजविरुद्धको ऐतिहासिक टि२० शृङ्खला जितेर नेपाल ओमान आएको हो । यसअघि विश्वकप छनोटकै तयारीस्वरुप नेपालले अस्ट्रेलियाको भ्रमणमा पनि सकारात्मक प्रदर्शन गरेको थियो । अझ विश्वकप छनोटकै वार्म अप खलमा ओमान र कतारलाई पराजित गरेको नेपालले मनोबल उच्च छ ।

सन्तुलित टिम

अलराउन्डरको टिम भएकोले पनि नेपाल बलियो देखिन्छ । अलराउन्ड धेरै भएमा टिमको सन्तुलन पन राम्रो हुने गर्दछ । नेपालको टिमको ब्याटिङमा गहिराइ छ । १५ खेलाडीमध्ये १३ जना ब्याटिङ गर्न सक्षम छन् । जसमध्ये धेरै जना आवश्यकताअनुसार ठूलो सट पनि प्रहार गर्न सक्छन् । नेपालका बलिङमा पनि विविधता छ । सन्दीप लामिछानेको रुपमा विश्व स्तरीय लेग स्पीनर नेपाली टिममा रहेको छ । ललित राजवंशीसँगको उनको स्पीन साझेदारीले विपक्षी टिमलाई पालको मध्य समयमा समस्यामा पार्नसक्छ । प्रारम्भिक बलरहरु करण केसी र सोमपाल कामी अनुभवी छन् । प्रारम्भिक ब्याट्सम्यानहरु कुशल भुर्तेल र अािसफ शेख लामो समयदेखि एउटै भूमिकामा छन् । यी दुइले नेपालालई धेरै खेल पनि जिताएका छन् । वन डाउनमा कप्तान रोहित पौडेल परफेक्ट ब्याट्सम्यान हुन । कुशल मल्ल्, दिपेन्द्रसिंह ऐरी, गुलसन झा, सन्दीप जोरा, आरिफ शेख र लोकेश बमको उपस्थितिले मध्यक्रम पनि बलियो छ । आदिल आलम र नन्दन यादव वास्तविक अलराउन्डर हुन् ।

नेपाली टिम

रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, आदिल आलम, आरिफ शेख, लोकेश बम, गुलशन झा, सोमपाल कामी, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, ललित राजवंशी ।