झापामा बाढीले पाँच करोडभन्दा बढीको धान नष्ट, किसानको बिचल्ली

झापा, ३० असोज । गत असोज १८ देखि २० गतेसम्म परेको अविरल वर्षा र त्यसपछिको बाढीका कारण झापा जिल्लामा ४६३ दशमलव ४२ हेक्टर जमिनमा लगाइएको धानबाली पूर्ण रूपमा नष्ट भएको छ।

कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले दिएको जानकारीअनुसार, बाढीले ७०३ जना किसानको कुल रु पाँच करोड ७५ लाख २३ हजार बराबरको एक हजार ६४४ दशमलव ३३ मेट्रिक टन धानबालीमा क्षति पुर्‍याएको छ।

प्रमुख विष्टले, “बाढीले अन्य कृषिबालीमा पनि क्षति गरेको छ, तर धानमा जति अरूमा छैन। पाक्न लागेको धान बाढीले बगाउँदा किसानको बिचल्ली भएको छ,” भने। वर्षाका कारण कनकाई र विरिङ नदीमा आएको बाढीले सबैभन्दा बढी धान खेत बगाएको हो।

बाढीले गौरीगञ्ज, झापा गाउँपालिका, भद्रपुर, कनकाई, शिवसताक्षी र गौरादह नगरपालिकाको पाँच हजार १२ दशमलव ६३ हेक्टर जमिनमा लगाइएका विभिन्न कृषिजन्य वस्तुहरू बगाएको विष्टले बताए। उहाँका अनुसार, अन्य पालिकाहरूको तुलनामा झापा गाउँपालिकामा सबैभन्दा धेरै क्षति भएको छ। यस पालिकाको वडा नं १, २ र ३ का ४३१ जना किसानको रु पाँच करोड १४ लाख ४७ हजार बराबरको धान, आलु र केरा बाली नष्ट भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *