निर्वाचन आयोगद्वारा फागुन २१ को निर्वाचन तयारीबारे पहिलो पटक दलहरूसँग छलफल
काठमाडौँ, ३० असोज । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनको तयारीका सम्बन्धमा आज राजनीतिक दलहरूसँग पहिलो पटक छलफल गरेको छ।
आयोगले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने तथा गत स्थानीय निर्वाचनमा कम्तीमा एक वडा सदस्यसम्म विजय हासिल गरेका राजनीतिक दलहरूलाई आसन्न निर्वाचनको तयारीसम्बन्धी छलफलमा सहभागी हुन पत्राचार गरेको थियो।
छलफलमा नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्मा, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष गुरु बराल, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सचिवालय सदस्य देव गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महासचिव कविन्द्र बुर्लाकोटी, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे लगायत अन्य दलका प्रतिनिधिहरू सहभागी थिए। छलफलका क्रममा कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन घोषणा भई तयारी सुरु भएको अवस्थामा निर्वाचनको वातावरण सृजना गरी सक्रिय हुन दलहरूलाई आग्रह गरे।
गत भदौ २३ र २४ गतेको ‘जेनजी आन्दोलन’ पश्चात् पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो। सोही सरकारको सिफारिसमा प्रतिनिधिसभाको विघटन भई आगामी फागुन २१ गतेका लागि निर्वाचनको मिति घोषणा गरिएको थियो। यो छलफल निर्वाचनलाई स्वच्छ र सफल बनाउने आयोगको प्रयासको एक महत्त्वपूर्ण कदम मानिएको छ।