काभ्रेपलाञ्चोकमा तिहारभर टिपर सञ्चालनमा रोक

काभ्रेपलाञ्चोक २ कात्तिक । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले तिहारभर जिल्लामा मालवाहक सवारीको साधन टिपर सञ्चालनमा रोक लगाएको छ । जिल्ला सुरक्षा समितिको आजको निर्णयअनुसार जिल्लामा टिपर सञ्चालनमा रोक लगाएको हाे।

समितिका अनुसार तिहार पर्वअन्तर्गत यही कात्तिक ३ गते बिहान ५ देखि ७ गते बिहान ७ बजेसम्म जिल्लाभर मालवाहक सवारीको साधन टिपर सञ्चालनमा रोक लगाएको हो । तिहारमा अन्य साधनका यात्रु तथा सर्वसाधारणको जीवन सुरक्षा, सडक दुर्घटना न्यूनीकरण र सहज आवागमन सुनिश्चित गर्न टिपर सञ्चालन रोक लगाइएको प्रमुख जिल्ला अधिकारी उमेश ढकालले बताउनुभयो ।

उहाँका अनुसार यस अवधिभर टिपर सञ्चालन गरी सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को उल्लङ्घन गरेको पाइएमा कानुनबमोजिम कडा कारबाही गरिने छ । अत्यावश्यक सेवाका लागि प्रयोग हुने सवारीसाधनलाई भने यो नियम लागू नहुने जनाइएको छ ।

काभ्रेपलाञ्चोकस्थित तीन राजमार्ग अरनिको, बिपी र हेलम्बु तथा पनौती–बनेपा सडकखण्डबाट दैनिक करिब दुई हजार ५०० टिपर सङ्घीय राजधानी काठमाडाैंलगायतका स्थानमा आवतजावत गर्छन् । स्थानीय प्रशासनले दुई वर्षदेखि सर्वसाधारणको जीवन सुरक्षा, सडक दुर्घटना न्यूनीकरण र सहज आवागमनका लागि राति मात्रै सञ्चालन गर्न अनुमति दिँदै आएको थियो ।