मुस्ताङमा हिमपात, यात्रा नगर्न प्रशासनको आग्रह

काठमाडाैं, ११ कात्तिक । जिल्ला प्रशासन कार्यालय मुस्ताङले एक विज्ञप्ति जारी गर्दै हिमपात भइरहेकाले यात्रामा ननिस्कन पदयात्रीलाई आग्रह गरेको छ ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जल तथा मौसम विज्ञान विभागको प्रक्षेपणअनुसार मुस्ताङका उच्च हिमाली क्षेत्रहरू जस्तै मुस्ताङ-डोल्पा, ५८०० मिटर उचाइको याकखर्क क्षेत्र, ५४०० मिटर उचाइको मनाङ-मुस्ताङ थोरङ्लापास, ६००० मिटर उचाइको मुस्ताङ-मनाङ सरिबुङ पास र मुस्ताङ-म्याग्दीको धौलागिरि पदमार्गको धम्पुस पिक लगायतका क्षेत्रहरूमा भारीदेखि हल्का हिमपात हुने सम्भावना रहेको जानकारी दिए । सोही कारण ती क्षेत्र भएर पदयात्रा नगर्न/नगराउन अनुरोध गरिएको छ ।

मुस्ताङको अन्य भागमा समेत बुधबारसम्म हिमपात र वर्षाको सम्भावना रहेकाले पर्यटक तथा तीर्थयात्रीहरूलाई मौसम पूर्वानुमानसम्बन्धी जानकारी लिएर मात्र यात्रा गर्न भनिएको छ । तिहारको छेकोमा मुस्ताङसहित हिमाली क्षेत्रमा पदयात्रामा जानेहरूको संख्या ह्वात्तै बढेको थियो । छठ पर्वसम्म बिदा भएकाले पदयात्रीको संख्या बढेको र अब कार्यालय खुलेसँगै बिस्तारै कम हुने अनुमान गरिएको छ ।