मन्थलीबाट काँकरभिट्टा जाँदै गरेको रात्रिबस झापामा दुर्घटना, १९ जना घाइते

झापा, ११ कात्तिक । झापाको शिवसताक्षी नगरपालिका–१० स्थित माईधार चोक नजिकै आज बिहान एक रात्रिबस दुर्घटना हुँदा १९ जना यात्रु घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्गमा मन्थलीबाट काँकरभिट्टाका लागि छुटेको प्र१–०१–००१क ४२०९ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल पल्टिएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार, घाइतेमध्ये १९ जनालाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पताल पठाइएको छ ।

बसमा सवार अन्य ६ जना यात्रु सकुशल रूपमा आआफ्नो गन्तव्यतर्फ लागेका छन् । कुल २५ जना यात्रु बोकेको बस दुर्घटनास्थलमै रहेको र सडकमा यातायात सञ्चालनमा कुनै अवरोध नभएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा बस चालक झापा मेचीनगर–६ का ३९ वर्षीय राजु भुजेलसहित झापा गाउँपालिका–३ की १७ वर्षीया इक्षा लिम्बू, कचनकवल–४ का २० वर्षीय रविलाल गणेश, कचनकवल–४ की २१ वर्षीया परिना गणेश, बिर्तामोड–१० की ३६ वर्षीया सिमित्रा खड्का कार्की र उनका छोरा ९ वर्षीय एलोन घाइते भएका छन् ।

त्यसैगरी, रामेछाप मन्थली–१० का ६५ वर्षीय अम्बरबहादुर बुढाथोकी, रामेछाप मन्थली–९ का ३५ वर्षीय भीमप्रसाद पुरी, रामेछाप खाँडादेवी–३ की ६५ वर्षीया मिटु खत्री, दोलखा बैतश्वर–३ का ३० वर्षीय प्रदीपबहादुर बस्नेत, रामेछाप देउरालीकी ८ वर्षीया अनु श्रेष्ठ, दोलखा तामाकोशी–३ का २८ वर्षीय कुमार बस्याल पनि घाइते भएका छन् ।

अन्य घाइतेहरूमा झापा कचनकवल–६ की २७ वर्षीया भेमा राजवंशी, बिर्तामोड–५ का ३५ वर्षीय रामकुमार श्रेष्ठ र उनका छोरा ९ वर्षीय रिदम, बिर्तामोड–५ का २३ वर्षीय पूर्णबहादुर नेपाली, सोही स्थानकी १८ वर्षीया शितल नेपाली, बाह्रदशी–५ का २१ वर्षीय अभिषेक राजवंशी र झापा गाउँपालिका–२ का १८ वर्षीय श्यमलाल किस्कु रहेका छन् । घाइते यात्रुहरूको अवस्था सामान्यदेखि मध्यम रहेको र सबैको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।