नेपाली सङ्गीतमा पहिलो मुक्तक एल्बम ‘मुक्तक’ लोकार्पण

काठमाडौँ, ११ कात्तिक । नेपाली सङ्गीतमा पहिलो पटक मुक्तक एल्बमको लोकार्पण गरिएको छ । ‘मुक्तक’ नामक यो एल्बम काठमाडौँमा एक विशेष कार्यक्रमबीच सार्वजनिक भएको हो ।

एल्बममा तीन प्रमुख मुक्तककारहरू रश्मि असफल, राधा कणेल र घनेन्द्र ओझाका प्रत्येकका दुईवटा मुक्तक समेटिएका छन् । यी सबै मुक्तक विश्वकीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठको सङ्गीत र स्वरमा तयार पारिएका हुन् ।

उक्त एल्बम छन्द सारथि, सुप्रसिद्ध छन्दकवि रमेश खकुरेल, पूर्वमुख्य सचिव तथा क्यानाडाका लागि पहिलो नेपाली राजदूत साहित्यकार डा. भोजराज घिमिरे, कवि एवं समालोचक प्राडा. देवी नेपाल, गायक तथा सङ्गीतकार कन्हैया सिंह परियार लगायतले संयुक्त रूपमा सार्वजनिक गर्नुभएको थियो ।

कार्यक्रममा टिप्पणी गर्दै प्राडा. देवी नेपालले मुक्तकलाई छोटो र विशिष्ट अभिव्यक्ति दिने साहित्यिक विधा रहेको बताउनुभयो । उहाँले नेपाली मुक्तकलाई पहिलो पटक एल्बमका रूपमा ल्याएकोमा स्रष्टा ओझा र सङ्गीतकार सन्तोष श्रेष्ठलाई बधाई ज्ञापन गर्नुभयो ।

स्रष्टा ओझाले संस्कृतको चतुष्पदीबाटै मुक्तक विकसित भएको तथा फारसीमा चतुष्पदीकै स्वरूपमा रुबाई लेखिएको उल्लेख गर्नुभयो । उहाँले आफूहरूले चतुष्पदी र रुबाईको सम्मान गर्दै शास्त्रीय छन्द/बहरमा मुक्तकहरू रचना गरेर एल्बम ल्याएको सुनाउनुभयो । उहाँले चतुष्पदी पिंगल छन्दमा र रुबाई फारसी छन्द (बहर) मा लेखिने जानकारी दिनुभयो ।

साहित्यकार डा. भोजराज घिमिरेले मुक्तक लेखनको शास्त्रीय परम्परालाई गजल लेखनको शास्त्रीय परम्परालाईझैँ निरन्तरता दिएकामा खुशी व्यक्त गर्नुभयो ।

कार्यक्रममा सङ्गीतकार सन्तोष श्रेष्ठले एल्बममा रहेका ६ वटै मुक्तक प्रत्यक्ष गाउनुभएको थियो । प्रत्यक्ष गायनमा बाँसुरीमा धनबहादुर गुरुङ र तबलामा शम्भु श्रेष्ठले साथ दिनुभएको थियो । दियालो साहित्य सरगमको आयोजनामा भएको कार्यक्रमको सहजीकरण साहित्यकार गणेशप्रसाद खतिवडाले गर्नुभएको थियो ।