आगामी निर्वाचनबारे पूर्वपदाधिकारीसँगको परामर्शमा आयोग

काठमाडौँ, २४ कात्तिक । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनलाई लक्षित गरी आयोगका पूर्वपदाधिकारी र पूर्वसचिवसँग परामर्श गरेको छ ।

कान्तिपथस्थित आयोगको केन्द्रीय कार्यालयमा आज आगामी निर्वाचनलाई स्वच्छ, स्वन्तन्त्र, निष्पक्ष, भयरहित र मितव्ययी तुल्याउन विगतका अनुभव प्राप्त गर्ने उद्देश्यले उहाँहरूसँग परामर्श गरेको हो ।

जेनजी आन्दोलनको भावनाअनुरूप चुनावी अन्तरिम सरकार गठन भई आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन हुँदैछ । यस्तै १९ सदस्य पदका लागि आगामी माघ ११ राष्ट्रियसभाको निर्वाचन हुँदैछ ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको अध्यक्षतामा भएको परामर्शमा आयुक्तद्वय सगुनशम्शेर जबरा र डा जानकी तुलाधर, पूर्वप्रमुख निर्वाचन आयुक्तहरू सूर्यप्रसाद श्रेष्ठ, नीलकण्ठ उप्रेती, दोलखबहादुर गुरुङलगायत र आयोगका पूर्वसचिवहरू मधु रेग्मी, भरतमणि सुवेदी, सुरेश अधिकारी, रविराज पन्तलगायत सहभागी हुनुहुन्छ ।

परामर्श बैठकको प्रारम्भमा आयोगका सचिव महादेव पन्थले यसअघिका निर्वाचन व्यवस्थापनमा भएका अनुभव तथा आइपरेका समस्या र चुनौती समाधानमा खेलिएको भूमिकासम्बन्धी अनुभव आदानप्रदान गर्न कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

तोकिएको निर्वाचन समयमा नै सम्पन्न गर्न मुलुकभर रहेका आयोगका कार्यालयहरूमा रिक्त पदमा पदपूर्ति गरिसकिएको जानकारी दिँदै उहाँले निर्वाचन सुरक्षाका लागि सुरक्षा सङ्गठनको बैठक बसिरहेको बताउनुभयो ।

आयोगमा हालसम्म १२५ दल दर्ता भएका छन् । केही दल दर्ताका प्रक्रियामा रहेको आयोगले जनाएको छ । चालु आवमा नयाँ तीन दल दर्ता भएका सचिव पन्थले जानकारी दिनुभयो ।