बालमैत्री, व्यवहारिक र वैज्ञानिक स्थानीय भाषा अध्ययन अध्यापनको जगमा काम थालिएको उपप्रमुख डंगोलको भनाइ
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कार्यान्वयनमा ल्याएको स्थानीय भाषाको पाठयक्रमलाई बालबालिका, अभिभावक र शिक्षकको रुचि तथा समयको माग अनुकुल बनाउन अहिले पाठयक्रम तथा पाठयपुस्तक संशोधनको प्रक्रिया थालिएको उपप्रमुख सुनिता डंगोलले बताउनुभएको छ । पाठयक्रम तथा पाठयपुस्तक संशोधन समितिका पदाधिकारीहरुसँगको बैठकमा उहाँले भन्नुभयो, ‘यो विषय अध्ययन अध्यापन गराउँदा कसैले बोझ मान्नु नपरोस् । सिकेका कुरा जीवनउपयोगी हुन् । शिक्षण पद्धति व्यवहारिक र बैज्ञानिक बनाउन होस् ।’ यसका लागि संशोधन प्रक्रिया अगाडि बढाउनु परेको हो ।
शिक्षा विभागले विज्ञ समूह गठन गरेर यो प्रक्रिया प्रारम्भ गरेको छ । पाठय पुस्तकलाई बालमैत्री बनाउन पाठयक्रम र पाठयपुस्तक पुनर्लेखन गर्दा विवेक पु¥याउनु पर्छ । उहाँको भनाइ छ ।
‘स्थानीय भाषाको पठनपाठन पुस्तक पढाउने र परीक्षा लिने प्रक्रियाका लागि मात्र होइन । यसले पहिचान तथा रैथाने समुदायको मौलिकता र चिनारी स्थापित गर्छ । यो उद्देश्य पूरा गराउन सक्ने पाठयपुस्तक आवश्यक छ ।’ उहाँले शिक्षा विभागका अधिकृतहरुलाई भन्नुभयो, ‘यसको प्रभावकारी शिक्षणका लागि संस्थागत विद्यालयमा नेपाल भाषा अध्यापन गर्ने शिक्षक/शिक्षिकाहरुलाई प्राथमिकतामा राखेर यसपछिको क्षमता विकास कार्यक्रम आयोजना गर्नुहोला ।’ सामुदायिक विद्यालयका नेपाल भाषाका सहायक प्रशिक्षकहरुका लागि विभिन्न चरणमा तालिम दिइएकोले यस पटक संस्थागत विद्यालयका शिक्षक/शिक्षिकालाई प्राथमिकतामा राखेर तालिम दिनु पर्ने उहाँको भनाइ थियो ।
काठमाडौँ महानगरपालिकाले स्थानीय पाठ्यक्रम तर्जुमा गर्ने क्रममा कक्षा १ देखि कक्षा ८ सम्म नेपाल भाषाको पाठ्यपुस्तक ‘येँ देय् म्हसिके’ अर्थात् काठमाडौँलाई चिनौँ विषय पढाइरहेको छ । यससँगै तामाङ् भाषाको पाठ्य पुस्तक पनि कार्यान्वयनमा छ ।
यी विषयको परीक्षामा कक्षा ४ र ५ मा ७५ अङ्कको अभ्यासगत र २५ अङ्कको सैद्धान्तिक मूल्याङ्कन हुने गरेको छ । कक्षा ६, ७ र ८ मा भने ५० अङ्कको अभ्यासगत र ५० अङ्कको सैद्धान्तिक मूल्याङ्कन गर्ने गरिएको छ ।
स्थानीय पाठय पुस्तकका पाठहरुमा मौलिक नाम, धार्मिक, सांस्कृतिक तथा सामाजिक पक्ष, मान्ने गरिएका मनाउने गरिएका जात्रा, चाडपर्व, संस्कार संस्कृतिलाई चित्र र संकेत राखिएको छ । काठमाडौँका प्रमुख जाति नेवारको जनजीवन, कला, सिप, कौशल, व्यवसाय, स्वास्थ्य, सरसफाइ, रहनसहन, व्यक्तित्व परिचय बोल्ने भाषा, लेख्ने लिपि, परम्परागत खेल जस्ता कुरा विषय राखिएको छ ।