एनपीएलका सबै टिकट बिक्री भएपछि प्रहरीले भन्याे, क्रिकेट मैदान वरपर भीडभाड नगर्नु

काठमाडौं, १ मङ्सिर । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको आजको सम्पूर्ण टिकटहरू सकिएको जानकारी प्राप्त भएको भन्दै नेपाल प्रहरीले टीयू क्रिकेट मैदान वरपर भीडभाड नगर्न अनुरोध गरेको छ।

प्रहरीले सूचना नै निकालेर भनेको छ, ‘टिकट नभएका महानुभावहरू उक्त स्थान वरपर भीडभाड नगरी सुरक्षा व्यवस्थापन गर्ने कार्यमा सहयोग गरिदिनुहुन अनुरोध गर्दछौं।’

एनपीएलको दोस्रो संस्करण आजदेखि त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुँदैछ। उद्घाटन खेल साँझ ४ बजेदेखि काठमाडौं गोर्खाज र साविक विजेता जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुँदैछ। टीयूमा पहिलोपटक फ्लडलाइटमा खेल हुन लागेको हो।

एनपीएलमा यसपटक पनि जनकपुर बोल्ट्स, काठमाडौं गोर्खाजका साथै सुदूरपश्चिम रोयल्स, चितवन राइनोज, विराटनगर किङ्स, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र कर्णाली याक्सले प्रतिस्पर्धा गर्दैछन्।