गैर हाजिर भएका २७ प्रहरीलाई सात दिनभित्र हाजिर हुन प्रहरी प्रधान कार्यालयकाे निर्देशन
काठमाडौं, १० मङ्सिर । नेपाल प्रहरीका २७ प्रहरी आफूखुसी कार्यालयमा सम्पर्क नगरी गैरहाजिर भएकाले प्रहरी प्रधान कार्यालयले सात दिनभित्र हाजिर हुन निर्देशन दिएको छ ।
गैरहाजिर भएकाहरुमा प्रहरी सहायक निरीक्षक १ जना, प्रहरी हबल्दार २ जना, सहायक हबल्दार ३ जना, प्रहरी जवान २० जना र कार्यालय सहयोगी १ जना छन् ।
सो विवरणमा दुई जना बाहेक अरु सबै जेनजी आन्दोलनपछि कार्यालयको सम्पर्कमा नरहेको कार्यालयले जनाएकाे छ ।
प्रहरी प्रधान कार्यालयले उनीहरुको नाम, ठेगाना, गैरहाजिर भएको मिति लगायतको विवरणसहित सार्वजनिक सूचना गरी बाटोको म्याद बाहेक सात दिनभित्र हाजिर हुन निर्देशन दिएको हो ।
उनीहरुलाई कार्यालयले गैरहाजिर हुनुको कारणसहित स्पष्टीकरण बुझाउन पनि प्रहरी प्रधान कार्यालयले भनेको छ । अन्यथा कानुनबमोजिम कारबाही हुने चेतावनी दिइएको छ ।