चुम्बनको इतिहास २ करोड वर्ष पुरानो : बाँदरका पुर्खा र नियन्डरथलले पनि गर्थे ‘किस’

 

काठमाडौं । चुम्बन अर्थात् ‘किस’ गर्ने बानी कहिलेदेखि सुरु भयो होला ? मानव सभ्यताको लिखित इतिहासमा यसको चर्चा कमै भए पनि हालैको एक वैज्ञानिक अध्ययनले यो व्यवहार करिब २ करोड १० लाख वर्ष पुरानो हुनसक्ने देखाएको छ।

अक्सफोर्ड विश्वविद्यालयको जीवविज्ञान विभागले गरेको नयाँ अध्ययन अनुसार हाम्रा पुर्खाहरू (एप्स) र नियन्डरथल मानवहरूले आफ्ना साथी र जोडीसँग ओठमा ओठ जोडेर चुम्बन गर्ने गर्थे।

मानव इतिहासमा चुम्बनको सबैभन्दा पुरानो लिखित प्रमाण ४,५०० वर्ष अघि मेसोपोटामिया र प्राचीन इजिप्टमा भेटिन्छ। तर, अध्ययनकी प्रमुख लेखिका तथा विकासवादी जीवशास्त्री माटिल्डा ब्रिन्डलका अनुसार चुम्बन एक “विकासवादी पहेली” (Evolutionary Conundrum) हो।

सिएनएनसँग कुरा गर्दै ब्रिन्डलले भनिन्, “चुम्बनमा रोग सर्ने उच्च जोखिम हुन्छ र बाँच्न वा सन्तान उत्पादनका लागि यसको कुनै स्पष्ट फाइदा देखिँदैन। तैपनि धेरै जनावरहरूमा यो बानी व्याप्त छ, जसले यो एक विकासित (Evolved) गुण हो भन्ने संकेत गर्छ।”

कसरी गरियो अध्ययन ?
जीवाश्म (Fossils) बाट चुम्बनको इतिहास पत्ता लगाउन असम्भव हुने भएकाले वैज्ञानिकहरूले फरक विधि अपनाएका थिए। उनीहरूले चिम्पान्जी, बोनोबो, ओराङ्उटान र गोरिल्ला जस्ता आधुनिक ‘प्राइमेट’ (बाँदर प्रजाति) हरूको व्यवहारको अध्ययन गरे।

अन्वेषकहरूले ‘फाइलोजेनेटिक विश्लेषण’ विधिको प्रयोग गरेर लोप भइसकेका पुर्खाहरूको व्यवहार अनुमान गरे। यस विधिमा आनुवंशिक जानकारीका आधारमा प्रजातिहरूको विकासक्रमको नक्सा (Tree) बनाइन्छ। १० लाख पटक भन्दा बढी मोडलिङ गरेर हेर्दा वैज्ञानिकहरूले चुम्बनको उत्पत्ति ठूला बाँदर प्रजाति (Great Apes) का पुर्खाहरूमा २ करोड १५ लाख देखि १ करोड ६९ लाख वर्ष अघिको बीचमा भएको निष्कर्ष निकालेका छन्।

नियन्डरथल र मानवको चुम्बन
‘इभोलुसन एण्ड ह्युमन बिहेभियर’ जर्नलमा बुधबार प्रकाशित नतिजा अनुसार नियन्डरथल जस्ता मानवका लोप भइसकेका आफन्तहरूले पनि चुम्बन गर्थे। वैज्ञानिकहरूका अनुसार आधुनिक मानव (होमो सापियन्स) र नियन्डरथलबीच अन्तर-प्रजनन् (Interbreeding) भएको प्रमाण रहेकाले उनीहरूले एक-अर्कालाई चुम्बन गरेको हुनसक्ने सम्भावना प्रबल छ।

किन सुरु भयो चुम्बन ?
अध्ययनले चुम्बनको उत्पत्ति समय पत्ता लगाए पनि यसको ‘किन’ र ‘कसरी’ भन्ने प्रश्नको उत्तर भने पूर्ण रूपमा दिन सकेको छैन। यद्यपि, जोडी छनौट गर्न, माया साटासाट गर्न (Foreplay), सामाजिक तनाव कम गर्न र समूहमा मिलनसारिता बढाउन चुम्बनको विकास भएको हुनसक्ने अनुमान गरिएको छ। कतिपय अवस्थामा आमाले बच्चालाई खाना चपाएर मुखबाटै खुवाउने प्रक्रियाबाट पनि यसको विकास भएको हुनसक्छ।

अध्ययनमा संलग्न नभएका किन्से इन्स्टिच्युटका कार्यकारी निर्देशक जस्टिन गार्सिया भन्छन्, “चुम्बन जैविक र सांस्कृतिक दुवै विषय हो। यो प्रकृति र हुर्काइ (Nature and Nurture) को अन्तरक्रियाको एक अद्भुत उदाहरण हो।”

अध्ययनकर्ताहरूले यो अनुसन्धान चुम्बनको विकासक्रम बुझ्नका लागि पहिलो महत्वपूर्ण कदम भएको बताएका छन्।(सीएनएन)