बेलायती राजकुमार विलियम र राजकुमारी क्याथरिन तीन दिने भारत भ्रमणमा
काठमाडौँ, कार्तिक ३० । बेलायतका राजकुमार विलियम र राजकुमारी क्याथरिन तीनदिने औपचारिक भ्रमणका लागि सोमबार भारत आइपुग्नुभएको छ । सन् २०२४ मा राजकुमारी क्याथरिनलाई क्यान्सर भएको पुष्टि भएपछि दुवै जना एकसाथ विदेश भ्रमणमा निस्किएको यो पहिलो अवसर हो ।
उहाँहरूले मुम्बईबाट भ्रमण सुरु गर्नुभएको छ । भ्रमणका क्रममा मङ्गलबार राजकुमार विलियमले स्थापना गर्नुभएको वातावरण संरक्षणसम्बन्धी प्रतिष्ठित ‘अर्थसट प्राइज’ वितरण समारोहमा सहभागी हुने कार्यक्रम रहेको छ । जलवायु परिवर्तनलगायत वातावरणीय चुनौती समाधानका लागि नवीनतम उपाय विकास गर्ने पाँच उत्कृष्ट परियोजनालाई उक्त पुरस्कारअन्तर्गत जनही १३ लाख अमेरिकी डलर प्रदान गरिन्छ ।
सन् २०२० मा स्थापना भएको यस पुरस्कारको अहिलेसम्मकै ठूलो समारोहमा भारतीय क्रिकेटका चर्चित खेलाडी सचिन तेन्दुलकर, अभिनेत्री आलिया भट्ट र अभिनेता रामी मालेकसहित विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व सहभागी हुनेछन् । बेलायती पप समूह ‘टेक द्याट’ले पनि उक्त समारोहमा पहिलोपटक भारतमा सांगीतिक प्रस्तुति दिने कार्यक्रम छ ।
भारतको अर्थसट अभियानमा योगदानको प्रशंसा गर्दै राजकुमार विलियमले सामाजिक सञ्जालमा भारतबाट अन्य देशको तुलनामा सबैभन्दा बढी फाइनलिस्ट र विजेता छनोट भएको उल्लेख गर्नुभएको छ । उहाँले भारतले विगत छ वर्षमा अभियानमा असाधारण योगदान पुर्याएको बताउनुभएको छ ।
भारत पुगेपछि राजकुमार विलियम र राजकुमारी क्याथरिनले मुम्बईको बलार्ड इस्टेट क्षेत्रमा स्थानीय बासिन्दासँग सडक क्रिकेट खेल्नुभएको थियो । मुम्बईको जनजीवन र संस्कृतिसँग जोडिएको सडक क्रिकेटमार्फत उहाँहरूले स्थानीय समुदायसँग अन्तरक्रियासमेत गर्नुभएको छ ।
नयाँदिल्ली प्रस्थान गर्नुअघि उहाँहरूले भारतको क्रिकेट, फेसन र चलचित्र उद्योगसँग सम्बन्धित विभिन्न कार्यक्रममा सहभागिता जनाउनुहुनेछ । भ्रमणको अन्तिम दिन बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
यसअघि उहाँहरूले १० वर्षअघि भारत भ्रमणका क्रममा पनि प्रधानमन्त्री मोदीसँग भेट गर्नुभएको थियो । त्यतिबेला राजकुमार विलियम बेलायती राजसिंहासनका उत्तराधिकारी रहनुभए पनि राजा चार्ल्स तृतीयको शासनकाल सुरु भइसकेको थिएन ।
यस भ्रमणलाई राजकुमारी क्याथरिनको विदेशमा हुने राजपरिवारका औपचारिक गतिविधिमा सक्रिय सहभागिताको महत्वपूर्ण पुनरागमनका रूपमा हेरिएको छ । उहाँले सन् २०२४ मार्चमा पेटको ठूलो शल्यक्रियापछि उपचारका क्रममा आफूलाई क्यान्सर भएको सार्वजनिक गर्नुभएको थियो । ‘केट’ नामले समेत परिचित क्याथरिनले सन् २०२५ जनवरीमा आफू क्यान्सरमुक्त भएको घोषणा गर्नुभएको थियो । त्यसपछि उहाँ क्रमशः सार्वजनिक तथा राजकीय जिम्मेवारीमा फर्किनुभएको हो ।
क्यान्सर पुष्टि भएपछि उहाँले गत मे महिनामा पतिबिना पहिलो विदेश भ्रमणका रूपमा इटालीको भ्रमण गर्नुभएको थियो । यसपटक भने राजकुमार विलियमसँगै भारत भ्रमणमा निस्कनुभएको हो ।
