केपी ओलीलाई स्थान हद लगाएर चुनावकाे वातावरण नबन्ने प्रधानमन्त्रीलाई एमालेकाे सुझाव
काठमाडौँ, ११ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष मुलुकमा निर्वाचनको वातावरण सुनिश्चित नरहेको भन्दै आफ्नो गम्भीर चासो व्यक्त गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा एमाले नेताहरूले प्रतिनिधिसभा विघटनसम्बन्धी सर्वाेच्च अदालतमा विचाराधीन रिट र निर्वाचनको निष्पक्षता बारे चिन्ता प्रकट गर्दै एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायतलाई स्थान हद लगाएर चुनाव गर्न नसकिने बताएका छन् ।
छलफलमा एमालेका महासचिव शङ्कर पोखरेल र उपमहासचिव प्रदीपकुमार ज्ञवालीलगायतका नेताहरूले सरकार गठन र संसद् विघटनको संवैधानिक परीक्षण हुनुपर्नेमा जोड दिएका थिए। एमालेका निवर्तमान प्रमुख सचेतक महेश बर्तौलाका अनुसार देशमा भइरहेका विभिन्न घटनाक्रमले निर्वाचनको अनुकूल वातावरण नबनेको कुरा प्रधानमन्त्रीलाई स्मरण गराइएको थियो। यद्यपि, एमालेले आफूहरू निर्वाचनबाट डराएर भाग्ने पक्षमा नरहेको पनि स्पष्ट पारेको छ।
सर्वाेच्च अदालतमा एमाले र अन्य अधिवक्ताहरूका तर्फबाट दायर गरिएका रिटहरू विचाराधीन छन्। अर्कोतर्फ, सरकार र निर्वाचन आयोग आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गराउन तयारीमा जुटिरहेका छन्। निर्वाचनको तयारीलाई थप प्रभावकारी बनाउन प्रमुख दलहरूसँग संवाद बढाउने क्रममा प्रधानमन्त्री कार्कीले आज एमाले नेताहरूलाई छलफलका लागि बोलाएकी थिइन्।
सो अवसरमा प्रधानमन्त्री कार्कीले निर्वाचनको विश्वसनीयतामा शङ्का नगर्न आग्रह गर्दै जेनजी आन्दोलनको मूल मर्म नै नयाँ जनादेश रहेको र चुनावमा केन्द्रित हुनु सबैको दायित्व भएकोमा जोड दिएको उहाँको सचिवालयले जनाएको छ।
एमालेका नेताहरूले भने सेवानिवृत्त भएलगत्तै निवर्तमान प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङलाई स्थान हद तोकिनु, फरार कैदी पक्राउ नपर्नु र लुटिएका सबै हतियार फिर्ता नहुनुजस्ता घटनाले निर्वाचनको वातावरणमा प्रश्न उठेको बताएका थिए।
छलफलमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल पनि सहभागी थिए। एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतलाई स्थान हद गरिनु पनि लोकतान्त्रिक अभ्यास नभएको भन्दै एमाले नेताहरूले ध्यानाकर्षण गराएको नेता बर्तौलाले जानकारी दिए।