पोखरालाइ पछिपार्दै लुम्बिनीको रोमाञ्चक जित

काठमाडौं,१३ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा लुम्बिनी लायन्सले पोखरा एभेन्जर्समाथि रोमाञ्चक जित हासिल गरेको छ।

पोखराले दिएको १५१ रनको चुनौतीपूर्ण लक्ष्य लुम्बिनीले २ बल बाँकी छँदा ७ विकेट गुमाएर पूरा गर्‍यो। लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४० रनको योगदान दिए।

रोहितले निरोधन डिक्वेलासँग तेस्रो विकेटका लागि महत्वपूर्ण ५४ रनको साझेदारी गरेका थिए। डिक्वेला ३७ रन बनाएर आउट भए। डार्सी सर्ट ७, सुमित महर्जन ०, दिलिप नाथ १०, गुल्बदिन नाइब १७ र रुवेन ट्रम्पल्यान १७ रनमा पेभेलियन फर्किएका थिए। सन्दीप जोरा २५ रनमा अविजित रहँदै टोलीलाई जित दिलाए।

बलिङतर्फ, पोखराका विपिन खत्री, म्याट टेयलर र सागर ढकालले दुई-दुई विकेट लिए भने जिम्मी निशमले एक विकेट हात पारे।

त्यसअघि, त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १५० रन बनाएको थियो। पोखराका लागि ओपनर एडम वासिङटन र जिम्मी निशमले उत्कृष्ट प्रदर्शन गरे।

एडमले ६३ बलमा ८१ रनको प्रभावशाली इनिङ खेले। ३३ रनमा ४ विकेट गुमाएर संकटमा परेको पोखराको ब्याटिङलाई एडम र जिम्मी निशमले उकासेका थिए।

यो जितसँगै लुम्बिनीले लगातार तीन हारपछिको सुखद नतिजा निकालेको छ। यता, पोखराले भने एनपीएलमा तेस्रो हार बेहोरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *