हेटौँडामा सडक विस्तारका लागि तयारी पुरा, भोलिदेखि डोजर चलाइने

हेटौँडा, १९ मङ्सिर । हेटौँडामा सडक विस्तारकाे कार्य भोलिदेखि सुरूहुने भएकाे छ । हेटौँडाको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म, साथै बुद्धचोक-सामरी पुल खण्डसम्म पर्ने २५/२५ गजभित्रका घर-टहरा तथा अन्य संरचना भत्काइने भएका हुन् ।

सडक डिभिजन कार्यालय हेटौँडाले सार्वजनिक सूचना जारी गर्दै भोलिदेखि सडक विस्तार कार्य औपचारिक रूपमा सुरू हुने जनाएकाे छ । सडक डिभिजन कार्यालयका प्रमुख गुरुप्रसाद अधिकारीका अनुसार भौतिक संरचना हटाउने तयारी पूरा भएको हाे ।

उनका अनुसार सडक विस्तारसँगै निर्माण भइरहेको बाइपास सडक पनि अन्तिम चरणमा पुगेको छ । विस्तार कार्य संवेदनशील मानिँदै सुरक्षा निकायले साइट क्षेत्रमा सुरक्षा व्यवस्था कडा पार्ने तयारी गरेको छ ।

सडक विस्तारको सूचना सार्वजनिक भएको केही दिनमै बजार क्षेत्र तनावग्रस्त बनेको छ । २५/२५ गजभित्र पर्ने संरचनाधनीहरू आन्दोलित भइरहेका छन् भने स्थानीय तहमा समेत दबाब बढिरहेको छ ।