२२ औँ ज्यापू दिवस

‘ज्यापूको पहिचान अमूर्त बस्तु मात्र होइन, सहअस्तित्वमा आधारित समृद्धिको मूल स्रोत हो’ – उपप्रमुख डंगोल

काठमाडौँ, मंसिर १९ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले, ज्यापूहरुको पहिचान अमूर्त बस्तु मात्र नभइ सहअस्तित्वमा आधारित समृद्धिको मूल स्रोत भएको बताउनुभएको छ । २२ औँ ज्यापू दिवसका अवसरमा नरः दे (हाँडीगाउँ) बाट निकालिएको सांस्कृतिक र्‍यालीको उद्घाटन गर्दै उहाँले, ज्यापू दिवसको मर्म र यसले दिने सन्देशलाई आत्मसात् गर्नुपर्ने बताउनुभयो ।

‘यो पर्व सामाजिक सहनसहन, पर्यावरण तथा प्रकृतिप्रतिको आस्था तथा सांस्कृतिक परम्परासँग जोडिएको छ । यो जोड भनेको मानव जीवनको अस्तित्व र सहभावसँग सम्बन्धित छ । प्रकृति र प्राकृतिक वस्तलाई, उद्यम र उद्यमीलाई सम्मान गर्नुपर्छ, भन्ने मर्मसँग सम्बन्धित छ । पर्व मनाउँदै गर्दा यो सन्देश महसुस गर्नुपर्छ । गराउनु पर्छ ।’ उहाँको भनाइ थियो ।

हाँडीगाउँबाट सुरु भएको सांस्कृतिक र्‍याली वसन्तपुर पुगेको थियो । त्यस अवसरमा महानगरपालिकाको सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत, वडा ५ का अध्यक्ष वीरेन्द्र प्रजापती, कार्यपालिका सदस्यहरु, ज्यापू संस्कृतिक विकास कोषका अध्यक्ष मंगलकृष्ण सिंहसहित वडा ५ को सांस्कृतिक झाँकीको सहभागिता थियो ।