नेपाली चलचित्र उद्योगमा ‘परान’ ले गर्‍यो १७ करोडको व्यापार, अन्य चलचित्रको पनि उत्साहजनक प्रदर्शन

काठमाडौँ, २३ मङ्सिर । नेपाली चलचित्र उद्योगमा पछिल्लो समय उत्साहजनक व्यापार देखिन थालेको छ। गत वर्ष ‘पूर्णबहादुरको सारङ्गी’ ले ऐतिहासिक व्यापार गरेयता नेपाली चलचित्रले राम्रो प्रदर्शन गरिरहेका छन्। कुनै समय लगानी उठाउन पनि गाह्रो हुने अवस्थाबाट नेपाली चलचित्रले राम्रो व्यापार गर्न थालेको जानकारहरू बताउँछन्।

चलचित्र विकास बोर्डअन्तर्गत रहेको ‘बक्सअफिस एटदरेट सिनेपाः’ ले सार्वजनिक गरेको यही मङ्सिर २० गतेसम्मको तथ्याङ्कअनुसार, चलचित्र ‘परान’ ले करिब रु १७ करोडको व्यापार गरेको छ। गत कात्तिक १४ गतेदेखि प्रदर्शनरत उक्त चलचित्रले घरेलु बजारमा रु १६ करोड ९७ लाख ९३ हजार ३५४ को व्यापार गरेको हो। बसाइँसराइ र पारिवारिक कथामा आधारित यो चलचित्रलाई दीपकप्रसाद आचार्यले निर्देशन गर्नुभएको हो।

निर्देशक आचार्यका अनुसार, “चलचित्र परानलाई दर्शकले आफैँले हेर्नुस् भनेर सिफारिस गरेको पाएका छौँ, बुबाछोराको कथालाई धेरै दर्शकले आफूसँग जोडेर प्रतिक्रिया दिनुभएको छ, यो हाम्रै समाजको कथा हो।” यस चलचित्रमा नीर शाह, मदनकृष्ण श्रेष्ठ, केकी अधिकारी, महेश त्रिपाठी, पूजा चन्द, अञ्जना बराइलीलगायतका कलाकारले अभिनय गरेका छन् र हालसम्म पाँच लाख ९८ हजार ३०९ वटा टिकट बिक्री भएका छन्।

त्यसैगरी, गत असोज ३१ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘जेरी अन टप’ ले तीन लाख ९१ हजार ९९२ वटा टिकट बिक्री गर्दै रु १२ करोड २६ लाख छ हजार २४० को व्यापार गरेको छ। अभिनेता अनमोल केसी, आँचल शर्मा, जसिता गुरुङ, भुवन केसी, केदार घिमिरे र उषा खड्गीलगायतका कलाकारले अभिनय गरेको यो चलचित्रलाई सुयोग गुरुङले निर्देशन गर्नुभएको हो। सगरमाथा आरोहण र प्रेम कथामा आधारित उक्त चलचित्रलाई सरोज न्यौपानेले निर्माण गर्नुभएको छ।

कवि उपेन्द्र सुब्बाले निर्देशन गर्नुभएको चलचित्र ‘जारी २ः सङ अफ च्याब्रुङ’ ले दुई लाख सात हजार ७१४ टिकट बिक्री गरी रु छ करोड २३ लाख ६९ हजार २०० को व्यापार गरेको छ। दयाहाङ राई, मिरुना मगर, ऋचा शर्मा, प्रेम सुब्बा, पुस्कर गुरुङलगायतकका कलाकारले अभिनय गर्नुभएको उक्त चलचित्रमा लिम्बू समुदायको जारी परम्परा र च्याब्रुङको कथालाई मिसाएर पटकथा तयार गरिएको छ। यो चलचित्र गत कात्तिक २१ गतेदेखि प्रदर्शनरत छ।

बाल गायकका रूपमा परिचित अशोक दर्जीको जीवनीमा आधारित चलचित्र ‘मनबिनाको धन’ ले सोही अवधिसम्म रु तीन करोड ७९ लाख दुई हजार ८७९ को व्यापार गरेको छ। टङ्क बुढाथोकीले निर्देशन गर्नुभएको उक्त चलचित्रका लागि हालसम्म एक लाख ४५ हजार ५९ वटा टिकट बिक्री भएका छन्। गत कात्तिक २१ गतेदेखि प्रदर्शनमा आएको यो चलचित्रमा गायक दर्जीसँगै नीता ढुङ्गाना, सरोज खनाल, एआर बुढाथोकीलगायतका कलाकारले अभिनय गर्नुभएको छ।

यही मङ्सिर १२ गतेदेखि प्रदर्शनरत चलचित्र ‘हर्ष’ ले गत शनिबारसम्म घरेलु बजारमा रु २८ लाख दुई हजार ३४६ को व्यापार गरेको छ। एकता पौडेलले निर्देशन गर्नुभएको उक्त चलचित्रका लागि आठ हजार ४३६ वटा टिकट बिक्री भएका छन्। यस चलचित्रमा खगेन्द्र लामिछाने, वर्षा राउत, साइमन वादी, निर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडीलगायत कलाकारले अभिनय गर्नुभएको छ।