अन्तर्राष्ट्रिय साझेदारीमा स्थानीय सरकारलाई निर्णायक भूमिका दिनुपर्छ – उपप्रमुख डंगोल
काठमाडौँ, २५ मङ्सिर । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले अन्तर्राष्ट्रिय साझेदारी र लगानीमा सञ्चालन हुने आयोजनाहरूमा स्थानीय सरकार तथा सहरहरूलाई केवल साक्षी प्रतिनिधि नभई निर्णायक भूमिका र सार्थक सहभागितासहितको प्रतिनिधित्व गराउनुपर्नेमा जोड दिनुभएको छ।
यही मङ्सिर २२ गतेदेखि २४ गतेसम्म (डिसेम्बर ८–१०) बेल्जियमको ब्रसेल्सस्थित युरोपियन युनियनको मुख्यालयमा आयोजित ‘अन्तर्राष्ट्रिय साझेदारीका लागि सहर र क्षेत्र २०२५ मञ्च’मा आफ्नो प्रस्तुति दिँदै उपप्रमुख डंगोलले यस्ता कार्यक्रममा स्थानीय सरकारहरूलाई शक्ति, स्वामित्व र निर्णायक भूमिकासहितको सहभागिता गराउनु पर्ने बताउनुभयो। उहाँले भन्नुभयो, “यस्ता योजनामा प्रतिनिधित्व गराउने विगतको परम्परागत विधि सच्याएर नयाँ रणनीतिक योजनासहित अगाडि बढ्नु अहिलेको आवश्यकता हो।”
भौतिक पूर्वाधार विकासलाई संरचना निर्माणको कामको रूपमा मात्र हेर्न नहुने बताउँदै उपप्रमुख डंगोलले यी संरचनालाई स्थानीय सामाजिक तथा सांस्कृतिक मूल्य मान्यतासँग जोड्नुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयाे, “अनि मात्र स्थानीयले स्वामित्व ग्रहण गरेको दिगो विकास हुन्छ। यसका लागि प्रोजेक्ट डिजाइनिङ चरणदेखि नै स्थानीयको सार्थक सहभागिता चाहिन्छ।”
उहाँले थप्नुभयो, “यसअघि अन्तर्राष्ट्रिय साझेदारी र लगानीका अधिकांश योजना कार्यान्वयनको चरणअगाडि स्थानीय सहभागिता देखिँदैन। सबै निर्णय भइसकेपछि तोकिएको ढाँचाभन्दा बाहिर आउन नसक्ने अवस्थामा स्थानीयलाई सहभागी गराउने पद्धति केवल औपचारिकताका लागि मात्र हो। यसले योजनासँग स्थानीय अपनत्व जोड्न सक्दैन। स्थानीय सहभागिताको नारा केवल भाव विनाको अक्षर मात्र हुन्छ। विकासमा स्थानीयपन जोड्न त, लोकतान्त्रिक विधिबाट विकेन्द्रीकरणमा आधारित सहभागिता सुनिश्चित हुने रणनीति बनाउनु पर्छ।”
उपप्रमुख डंगोलले ‘ग्लोबल गेटवे’ को सफलताका लागि चारबुँदे सुझाव दिँदै भन्नुभयो, “अर्थपूर्ण सहभागिता, उत्थानशीलता (Resilience), स्थानीय मूल्यसँगको सम्बन्ध र समुदाय केन्द्रित स्थानीयकरण नतिजा प्राप्तिका स्तम्भ हुन्। यी स्तम्भलाई सन्तुलित उपयोग गर्नुपर्छ।” विकासको दिगोपनाका आयामबारे चर्चा गर्दै उहाँले कसैलाई परनिर्भरतामा पार्ने गरीका परियोजना सञ्चालन गर्न नहुने बताउनुभयो। “परनिर्भरतामा आधारित विकासले सुखभन्दा दुःख प्रदान गर्छ। कसैलाई मर्म पर्ने गरीको विकास हुनुहुँदैन,” उहाँले आफ्नो दृष्टिकोण राख्नुभयो।
विकासमा स्थानीय सरकारको भूमिका विषयमा धारणा राख्दै उहाँले अन्तर्राष्ट्रिय लगानी र साझेदारीमा सञ्चालन हुने कार्यक्रममा स्थानीय सरकार अन्तिम सूचीका साझेदार नभइ पहिलो पाइलाका प्रमुख साझेदार भएको उल्लेख गर्नुभयो।
युरोपियन युनियनका देशहरू, साझेदार देशका स्थानीय तह र साझेदार क्षेत्रका अधिकारीहरू सहभागी भएको उक्त कार्यक्रम ‘ग्लोबल गेटवे’ लगानी रणनीतिको स्थानीयकरण विषयमा केन्द्रित थियो। सो अवसरमा नेपालबाट उपप्रमुख डंगोलका साथै चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरी र वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाल (भण्डारी) को सहभागिता रहेको थियो।