नेकपा एमालेकाे ११औँ महाधिवेशन आजदेखि भक्तपुरको सल्लाघारी
भक्तपुर, २७ मङ्सिर । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन आज (शनिबार) देखि भक्तपुरमा सुरु हुँदैछ। महाधिवेशनको उद्घाटन सत्र भक्तपुरको सल्लाघारीस्थित खुल्ला चौरमा आयोजना गरिएको छ।
एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार महाधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको छ। उद्घाटन सत्रमा देशभरबाट करिब तीन लाख जनसमुदायको सहभागिता रहने एमालेको दाबी छ। उद्घाटन समारोहलाई भव्य बनाउन नेपालको राष्ट्रिय एकता, कला र संस्कृति झल्काउने २०० भन्दा बढी झाँकी प्रदर्शन गर्ने तयारी छ।
महाधिवेशनको उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूलाई आमन्त्रण गरिएको छ। जसमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत विभिन्न १६ वटा दलका अध्यक्ष एवं प्रतिनिधिहरू सहभागी हुनेछन्। साथै, विभिन्न देशका कूटनीतिक नियोग र विदेशी पार्टीहरूबाट शुभकामना सन्देश प्राप्त भइरहेको एमाले स्थायी कमिटी सदस्य डा. राजन भट्टराईले जानकारी दिए।
चाँगुनारायण मन्दिरको स्वरूपमा मञ्च
एमालेले महाधिवेशनका लागि लिच्छविकालीन कला झल्कने भव्य मञ्च निर्माण गरेको छ। राजा हरिदत्तले स्थापना गरेको ऐतिहासिक चाँगुनारायण मन्दिरलाई मुख्य स्वरूपमा राखेर उपत्यकाका अन्य महत्वपूर्ण मन्दिरहरू समेत देखिने गरी मञ्च सजाइएको छ।
टाढा रहेका सहभागीले समेत सहजै देख्न सकून् भन्नका लागि मञ्चको दायाँ–बायाँ ३० फिट अग्ला दुईवटा ‘एलइडी स्क्रिन’ राखिएका छन्। साथै, करिब तीन किलोमिटर परसम्म सुन्न सकिने ११५ वटा उच्च गुणस्तरका साउन्ड सिस्टम जडान गरिएको छ। मञ्च अगाडि विशिष्ट अतिथि, नेता तथा कूटनीतिक नियोगका प्रतिनिधिहरूका लागि २५ हजार कुर्सीको व्यवस्था गरिएको छ।
रिमोटबाट उद्घाटन
महाधिवेशनको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले प्रविधिमैत्री ढंगले गर्नेछन्। मञ्चमा राखिएको चाँगुनारायण मन्दिरको छेउमा रहेका विद्युतीय पालाहरू र पार्टीको ११औँ झण्डालाई रिमोटमार्फत फहराएर उद्घाटन गर्ने तयारी गरिएको स्वयंसेवक परिचालन समितिका संयोजक भानुभक्त ढकालले जानकारी दिए। ११औँ महाधिवेशन भएकाले ११ वटा झण्डा राखिनेछन्, जसमध्ये १० वटा पहिले नै फहराइनेछ।
ट्राफिक र स्वयंसेवक व्यवस्थापन
महाधिवेशनलाई शान्तिपूर्ण र व्यवस्थित बनाउन १० हजार तालिमप्राप्त स्वयंसेवक परिचालन गरिने भएको छ। जसमा २४ वटा जनवर्गीय सङ्गठनका ५०० भन्दा बढी स्वयंसेवक विशेष ‘ड्रेसकोड’मा खटिनेछन्।
ट्राफिक व्यवस्थापनका लागि कोटेश्वरबाट आउने सवारी साधनलाई गट्ठाघरस्थित नागरिक उड्डयन प्राधिकरणको चौरमा र काभ्रे हुँदै पूर्वबाट आउने सवारीलाई जगातीस्थित ‘भाइरल प्लानिङ’मा पार्किङको व्यवस्था गरिएको छ। ती स्थानबाट जुलुस र र्यालीसहित सहभागीहरू कार्यक्रम स्थल प्रवेश गर्ने व्यवस्था मिलाइएको एमालेले जनाएको छ।