स्वायत्तताको स्मरणमा आज ‘सङ्घीय संसद् सेवा दिवस’ मनाइँदै

काठमाडौँ, २८ मङ्सिर । निजामती सेवाबाट अलग भई स्वायत्त संसद् सेवा गठन भएको ऐतिहासिक दिनको स्मरण गर्दै आज विभिन्न कार्यक्रमका साथ ‘सङ्घीय संसद् सेवा दिवस’ मनाइँदैछ।

विसं २०५८ सालमा निजामती सेवाबाट छुट्टिएर संसद् सेवाको गठन भएको थियो। सोही दिनको सम्झनामा हरेक वर्ष मङ्सिर २८ गते यो दिवस मनाउने गरिएको छ। दिवसका अवसरमा सङ्घीय संसद् सचिवालयले विभिन्न रचनात्मक कार्यक्रमहरूको आयोजना गरेको छ।

संसदीय अभ्यासलाई थप प्रभावकारी, मर्यादित र व्यावसायिक बनाउने उद्देश्यले छुट्टै ऐनमार्फत सञ्चालित यो सेवा विशिष्ट र स्वायत्त मानिन्छ। नेपालको संविधानको धारा २०७ मा सङ्घीय संसद्को कामकारबाही सञ्चालन तथा व्यवस्थापन गर्न एक सचिवालय रहने र त्यसको स्थापना सङ्घीय कानुनबमोजिम हुने व्यवस्था गरिएको छ।

राज्यको सर्वोच्च जनप्रतिनिधिमूलक संस्थाका रूपमा रहेको सङ्घीय संसद्लाई प्रशासनिक, प्राविधिक, सूचना र भौतिक सामग्रीलगायतको सहयोग उपलब्ध गराउनु सचिवालयको मुख्य जिम्मेवारी हो। संविधानको सफल कार्यान्वयन र कानुन निर्माण प्रक्रियामा संसद् सेवाको अविच्छिन्न र महत्त्वपूर्ण भूमिका रहँदै आएको छ।