एमाले महाधिवेशन: मतदान सम्पन्न, ९८.४ प्रतिशत मत खस्यो, ३६ प्रतिनिधि अनुपस्थित (नामसहित )

काठमाडौँ, ३ पुस । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया आज (बिहीबार) बिहान सम्पन्न भएको छ।

काठमाडौँको भृकुटीमण्डपमा बुधबार बिहान सवा ९ बजे सुरु भएको मतदान करिब २२ घण्टापछि बिहीबार बिहान पौने ७ बजे सकिएको हो।

केन्द्रीय निर्वाचन आयोगका अनुसार महाधिवेशनमा कुल २ हजार २ सय ६३ प्रतिनिधिहरू मतदाता रहेकोमा २ हजार २ सय २७ मत खसेको छ। यो कुल मतदाता सङ्ख्याको ९८.४ प्रतिशत हो। आयोगले आजै बिहान १० बजेदेखि मतगणना सुरु गर्ने तयारी गरेको छ।

को-को भए मतदानमा अनुपस्थित?
नेतृत्व चयनका लागि भएको महत्त्वपूर्ण मतदान प्रक्रियामा ३६ जना प्रतिनिधिहरू सहभागी भएनन्। मतदान नगर्नेमा पार्टीका वरिष्ठ नेता, पूर्वमन्त्री तथा विभिन्न आयोगका पदाधिकारीहरू समेत रहेका छन्।
प्राप्त विवरण अनुसार केन्द्रीय कमिटी सदस्यहरू मुकुन्द न्यौपाने, बसन्त नेम्वाङ, बालकृष्ण काउछामगर, ब्रिजेश गुप्ता, राजकुमार गुप्ता र हरिबहादुर राजवंशी मतदानमा सहभागी भएनन्।
यस्तै, अनुशासन आयोगका पोष्ट कुमार नेपाल, सरस्वती गौतम र सतिलाल राजवंशीले पनि मतदान गरेनन्। अनुशासन आयोगकै सदस्य प्रदीप प्याकुरेल (सुशील) मतदान स्थलमा उपस्थित भए पनि कार्ड नभएका कारण मतदानबाट बञ्चित भए।

निर्वाचन आयोगका समिर नेपाल र रचना राजोपाध्याय तथा लेखा आयोगका अशोक केसी पनि मतदानमा अनुपस्थित रहे। विभागहरूबाट घनश्याम कोइराला र सन्जीव रोकाहाले मतदान गरेनन्।

जिल्ला र प्रवासबाट अनुपस्थित हुनेहरू
जिल्ला तथा भूगोलतर्फ झापाकी कृष्णमाया भुजेल, बाराकी लक्ष्मी यादव, सिरहाका शत्रुधन प्रसाद सिंह, पर्साका राजेन्द्र प्रसाद यादव, अंशु आनन्द र मनोज कुमार गुप्ताले मतदान गरेनन्। यस्तै, सप्तरीका विजय कापर, महोत्तरीका जितेन्द्र चौधरी, गुल्मीका राजेन्द्र अर्याल, कञ्चनपुरका पल्वराज भट्ट, दैलेखका तिलक रिजाल र कालीकोटकी गोमा नेपाली पनि अनुपस्थित रहे। अन्यमा तेजकुमार बिक, दानबहादुर बिक र बब्लु शिवाकोटी रहेका छन्।

प्रवास क्षेत्रबाट प्रतिनिधित्व गर्ने सिर्जना नेपाली, अशिम कोइराला, दिनेश बास्तोला, बालुका बेलबासे, गिरिराज बेलबासे र मिना पोखरेल मतदान प्रक्रियामा सहभागी भएनन्।