नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. धनेश्वर नेपालमाथि कालो मसी प्रहार
दाङ, ६ पुस । नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. धनेश्वर नेपालमाथि अज्ञात समूहले कालो मसी छर्केर दुर्व्यवहार गरेको छ ।
दाङको बेलझुण्डीस्थित उपकुलपतिको सरकारी निवास (क्वाटर) मै पुगेर आइतबार बिहान ५–६ जनाको समूहले उनीमाथि दुर्व्यवहार गरेको हो ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक (डीएसपी) चक्र शाहका अनुसार निवासमा बसिरहेका बेला अचानक पुगेको समूहले उपकुलपति नेपालको शरीरमा कालो मसी छर्केको थियो । घटनालगत्तै उक्त समूह फरार भएको र उनीहरूको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ ।
घटनाको जानकारी पाएलगत्तै दाङका प्रहरी प्रमुख (प्रहरी उपरीक्षक) दीपक श्रेष्ठ र डीएसपी शाहसहितको टोली घटनास्थल पुगेर प्रारम्भिक अनुसन्धान सुरु गरेको छ । प्रहरीले दोषीहरूको पहिचानका लागि सीसीटीभी फुटेज र अन्य प्रमाणहरूको अध्ययन गरिरहेको बताएको छ ।
प्रा.डा. धनेश्वर नेपाल लामो समयदेखि प्राज्ञिक क्षेत्रमा सक्रिय हुनुहुन्छ । उहाँ यसअघि संस्कृत विश्वविद्यालयकै परीक्षा नियन्त्रक, वाल्मीकि विद्यापीठको ज्योतिष विभाग प्रमुख र नेपाल ज्योतिष परिषद्को वरिष्ठ सल्लाहकारको जिम्मेवारी सम्हालिसकेका व्यक्तित्व हुनुहुन्छ ।
विश्वविद्यालयका उपकुलपतिमाथि निवासमै पुगेर गरिएको यस दुर्व्यवहारको प्राज्ञिक क्षेत्रमा कडा आलोचना भएको छ ।