इडेन गार्डेनमा ‘शैक्षिक प्रदर्शनी- विद्यार्थीको सिर्जनामा ६ सय ५० अभिभावकको उत्साहजनक सहभागिता
भक्तपुर, ६ पुस । सूर्यविनायक–३, बालकोटस्थित इडेन गार्डेन इङ्ग्लिस स्कुलको आयोजनामा ‘ईडेन गार्डेन शैक्षिक प्रदर्शनी-२०८२’ भव्य रूपमा सम्पन्न भएको छ।
विद्यार्थीहरूमा अन्तर्निहित सिर्जनशीलता, नवप्रवर्तनशील सोच र प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजित उक्त प्रदर्शनी विशेष उपलब्धिमूलक रहेको विद्यालयले जनाएको छ।
विद्यालयस्तरमै विद्यार्थीहरूलाई सैद्धान्तिक ज्ञानलाई व्यवहारसँग जोड्न प्रेरित गर्ने, अनुसन्धानमुखी सोचको विकास गर्ने र सार्वजनिक रूपमा आफ्ना विचार आत्मविश्वासका साथ प्रस्तुत गर्न सक्षम बनाउने लक्ष्यका साथ प्रदर्शनी आयोजना गरिएको हो। प्रदर्शनीमा विज्ञान, सामाजिक अध्ययन तथा चित्रकलासँग सम्बन्धित विविध सामग्रीहरू प्रदर्शन गरिएका थिए।
उक्त शैक्षिक मेलामा ६५० भन्दा बढी अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। विद्यार्थीहरूले आफ्नै परिश्रम र कल्पनाशीलतामा तयार पारेका विज्ञानका प्रयोगात्मक सामग्री, सामाजिक अध्ययनका परियोजनाहरू र कलात्मक वस्तुहरूको अभिभावकहरूले प्रत्यक्ष अवलोकन गरेका थिए। विद्यार्थीहरूको सिकाइप्रतिको उत्साह र क्षमतालाई नजिकबाट नियाल्दै अभिभावकहरूले कार्यक्रमको सराहना गरेका छन्।
कार्यक्रम समापनका अवसरमा विद्यालयका सह-प्रिन्सिपल अनिश राईले प्रदर्शनीलाई सफल बनाउन अहोरात्र खट्ने प्रतिभावान विद्यार्थी, मार्गदर्शन प्रदान गर्ने समर्पित शिक्षक-कर्मचारी र उपस्थित अभिभावक एवं शुभचिन्तकहरूप्रति हार्दिक आभार व्यक्त गर्नुभयो।
प्रदर्शनीको महत्त्वबारे प्रकाश पार्दै सह-प्रिन्सिपल राईले भन्नुभयो, “यस्ता शैक्षिक कार्यक्रमहरूले विद्यार्थीमा व्यवहारिक ज्ञान, समस्या समाधान गर्ने क्षमता र आत्मविश्वास अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्छन्।” उहाँले आगामी दिनहरूमा पनि यस्ता रचनात्मक क्रियाकलापलाई अझ व्यवस्थित र प्रभावकारी रूपमा निरन्तरता दिने विद्यालयको लक्ष्य रहेको जानकारी दिनुभयो।