हायु हत्याको अनुसन्धान गर्दा खुल्यो अर्को हत्याको रहस्य: जङ्गलमा भेटियो दोस्रो शव, दुई आरोपी पक्राउ

काठमाडौँ, ७ पुस । ललितपुरमा बोरामा प्याक गरिएको अवस्थामा शव भेटिएको घटनाको अनुसन्धानका क्रममा प्रहरीले अर्को एउटा विभत्स हत्याको रहस्य फेला पारेको छ ।

केशवराज हायुको हत्याको अनुसन्धान गर्दा भोजपुरका २१ वर्षीय पारुहाङ राईको पनि हत्या भएको खुलासा भएको हो ।

प्रहरीले सोमबार भक्तपुर र ललितपुरको सिमानामा पर्ने सूर्यविनायक–७ स्थित जङ्गलमा पारुहाङको शव फेला पारेको छ ।

कसरी खुल्यो रहस्य ?
यसअघि गत पुस २ गते ललितपुरको महालक्ष्मी नगरपालिका–८, शेरफाँटस्थित एक इनारमा सिन्धुलीका केशवराज हायुको शव बोरामा बाँधिएको अवस्थामा फेला परेको थियो । उक्त घटनाको अनुसन्धानका क्रममा प्रहरीले सुरुमा देवराज ढुङ्गेललाई पक्राउ गरेको थियो ।

पक्राउ परेका देवराजको बयानका आधारमा प्रहरीले सोमबार बिहान सिन्धुलीबाट अर्का आरोपी जयराज अधिकारीलाई नियन्त्रणमा लियो । जयराजले प्रहरीसमक्ष हायुको मात्र नभई पारुहाङ राईको पनि हत्या गरी जङ्गलमा फालेको बयान दिएपछि प्रहरी टोली सूर्यविनायकको जङ्गल पुगेको थियो ।

एक दिनको अन्तरालमा दुई हत्या
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार यी दुवै हत्या मंसिर महिनामै भएका थिए । पक्राउ परेका अभियुक्तद्वय देवराज र जयराजले मंसिर २४ गते केशवराज हायुको हत्या गरेका थिए भने त्यसको भोलिपल्ट अर्थात् मंसिर २५ गते पारुहाङ राईको हत्या गरेको स्वीकार गरेका छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले पक्राउ परेका दुवै अभियुक्तले दुईवटै हत्यामा आफ्नो संलग्नता स्वीकार गरिसकेको जानकारी दिनुभयो ।