चितवनको इच्छाकामनामा ‘सुन्तला महोत्सव’ हुने: पुस ११ देखि १५ सम्म चल्ने
चितवन, ७ पुस । चितवनको इच्छाकामना गाउँपालिकामा सुन्तलाको व्यावसायिक प्रवर्द्धन र पर्यटन विकासका लागि ‘दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा फुड फेस्टिभल २०८२’ आयोजना हुने भएको छ।
आगामी पुस ११ गतेदेखि १५ गतेसम्म मुग्लिन बजार क्षेत्रमा यो महोत्सव सञ्चालन हुन लागेको हो।
चितवन उद्योग सङ्घ इच्छाकामना समिति र होटल व्यवसायी सङ्घ इच्छाकामना एकाइ समितिको संयुक्त आयोजनामा हुन लागेको यस महोत्सवबारे सोमबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो। महोत्सवले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने र स्थानीय उत्पादनको बजारीकरणमा टेवा पुर्याउने लक्ष्य राखेको छ।
महोत्सवमा सुन्तला र स्थानीय परिकारका ५० भन्दा बढी प्रदर्शनी स्टलहरू रहनेछन्। आयोजकका अनुसार इच्छाकामनाका करिब १०० जना सुन्तला उत्पादक किसानले आफ्नो उत्पादन प्रत्यक्ष रूपमा बिक्री-वितरण गरी लाभ लिन सक्नेछन्। साथै, स्थानीय कला, संस्कृति र परम्पराको संरक्षणका लागि सांस्कृतिक कार्यक्रमहरू समेत आयोजना गरिनेछ।
इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङका अनुसार यस क्षेत्रमा सुन्तला खेतीबाट वार्षिक ९ देखि १० करोड रुपैयाँसम्मको कारोबार हुने गरेको छ। पछिल्लो समय केही पुराना बगैँचाहरू नष्ट भएकाले उत्पादनमा केही गिरावट आएको भए तापनि पालिकाले नयाँ बिरुवा वितरण र आधुनिक प्रविधिमा सहयोग गरिरहेको उहाँले बताउनुभयो।
“हामीले किसानलाई बिरुवा वितरण, टिपाइ, गोडमेल र सिँचाइ व्यवस्थापनमा निरन्तर सहयोग गरिरहेका छौँ,” अध्यक्ष गुरुङले भन्नुभयो, “मुग्लिन क्षेत्रमा हुने यो महोत्सवले यहाँका सुन्तला मात्र नभई मनकामना र अन्य प्राकृतिक पर्यटकीय स्थलको प्रचारप्रसारमा पनि ठूलो भूमिका खेल्नेछ।”
महोत्सवले स्थानीय व्यवसायी र किसानबीचको सम्बन्ध विस्तार गर्नुका साथै मुग्लिन क्षेत्रलाई पर्यटकीय गन्तव्यको रूपमा स्थापित गर्न सहयोग पुग्ने विश्वास आयोजकले लिएको छ।