महान्यायाधिवक्ता कार्यालयको ७५औँ स्थापना दिवस: अनुसन्धान र अभियोजनलाई वैज्ञानिक बनाउन प्रधानन्यायाधीशको जोड

काठमाडौँ, ८ पुस । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले नेपालको फौजदारी न्याय प्रणालीलाई प्रभावकारी बनाउन महान्यायाधिवक्ता कार्यालयको भूमिका प्रशंसनीय रहेको बताउनुभएको छ।

महान्यायाधिवक्ता कार्यालयको ७५औँ स्थापना दिवसका अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उहाँले अभियोजन पद्धतिमा क्रमिक सुधार हुँदै गएको उल्लेख गर्नुभयो।

प्रधानन्यायाधीश राउतले न्याय केवल कागज, आदेश वा फैसलामा मात्र सीमित नभई त्यसको सफल कार्यान्वयन मुख्य विषय भएको स्पष्ट पार्नुभयो। “अहिलेको समाज प्रश्न सोध्ने र जवाफ खोज्ने प्रकृतिको छ,” उहाँले भन्नुभयो, “यस्तो अवस्थामा अनुसन्धान सुक्ष्म, गहिरो र वस्तुनिष्ठ भएन भने न्याय हराउन सक्छ। त्यसैले अभियोजनलाई अझ वैज्ञानिक र प्रविधिमैत्री बनाउनु आवश्यक छ।”

समारोहमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले कानुनी प्रक्रियालाई सफल बनाउन अनुसन्धानमा पारदर्शिता र शुद्धता हुनुपर्नेमा जोड दिनुभयो।

त्यस्तै, सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लले पीडितलाई केन्द्रमा राखेर न्याय प्रवाह गर्नुपर्ने बताउनुभयो। उहाँले ‘जेनजी’ (नयाँ पुस्ता) को चाहना र डिजिटल युगमा बढ्दै गएका अपराधका चुनौतीलाई सामना गर्ने गरी अभियोजन प्रणालीमा सुधार ल्याउनुपर्ने आवश्यकता औँल्याउनुभयो।

महान्यायाधिवक्ता सविता बरालले सात दशकको यात्रामा कार्यालयले फौजदारी न्याय प्रणालीमा धेरै सुधार ल्याएको दाबी गर्दै सरकारी वकिलहरू थप जिम्मेवार र व्यावसायिक हुनुपर्ने बताउनुभयो।
कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरी र महान्यायाधिवक्ता कार्यालयबीचको उत्कृष्ट समन्वयले विधिको शासन स्थापनामा मद्दत पुगेको बताउनुभयो।