संसद पुनर्स्थापनाको माग गर्दै ६८ निवर्तमान सांसदले दिएको पूरक निवेदनमा आज सुनुवाइ

काठमाडौँ, ९ पुस । प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै नेपाली कांग्रेसका ६५ जनासहित ६८ निवर्तमान सांसदले सर्वोच्च अदालतमा दर्ता गरेको पूरक निवेदनमाथि आज सुनुवाइ हुँदैछ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत नेतृत्वको संवैधानिक इजलासमा यस विषयमा बहस हुने तय भएको हो ।

यस मुद्दाको सुनुवाइका लागि गठित संवैधानिक इजलासमा प्रधानन्यायाधीश राउतसहित वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीशहरू हरिप्रसाद फुयाल, मनोजकुमार शर्मा र नहकुल सुवेदी रहनुभएको छ ।

नेपाली कांग्रेसका कूल ८७ निवर्तमान सांसदमध्ये ६५ जनाको हस्ताक्षरसहितको पूरक निवेदन मंगलबार पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खातीमार्फत सर्वोच्चमा दर्ता गरिएको थियो । यसअघि कांग्रेसका निवर्तमान प्रमुख सचेतक श्यामकुमार घिमिरे र सचेतक सुशीला थिङसहित ८ जनाले मंसिर २३ गते दर्ता गरेको रिटमा सर्वोच्चले कारण देखाउ आदेश जारी गरिसकेको छ ।

संसद पुनर्स्थापनाको माग गर्नेमा कांग्रेस मात्र नभई अन्य दलका सांसदहरू पनि थपिएका छन् । नेकपा एमालेका निवर्तमान प्रमुख सचेतक महेश बर्तौला र सचेतक सुनिता बरालले पनि पुनर्स्थापनाकै पक्षमा रिट दायर गर्नुभएको छ ।

यस्तै, स्वतन्त्र सांसद योगेन्द्र मण्डल, जनता समाजवादी पार्टी (जसपा) र जनमत पार्टीका एक–एक जना निवर्तमान सांसदले पनि यस निवेदनमा हस्ताक्षर गरेका छन् । हालसम्म विभिन्न दलका गरी कुल १४३ जना निवर्तमान सांसदहरूले संसद पुनर्स्थापनाको पक्षमा सर्वोच्च अदालतमा आफ्नो हस्ताक्षर बुझाइसकेका छन् ।
आज हुने सुनुवाइलाई राजनीतिक र कानुनी वृत्तमा निकै चासोका साथ हेरिएको छ, जसले विघटित प्रतिनिधिसभाको भविष्यबारे महत्त्वपूर्ण सङ्केत दिने अपेक्षा गरिएको छ ।