आणविक पनडुब्बी निर्माणमा उत्तर कोरियाको ठूलो फड्को, किम जोङ उनद्वारा निरीक्षण

एजेन्सी, १० पुस । उत्तर कोरियाले आणविक शक्तिबाट चल्ने विशाल पनडुब्बी निर्माण कार्यमा उल्लेखनीय प्रगति गरेको छ । उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमले सार्वजनिक गरेका तस्बिरहरूमा झण्डै निर्माण सम्पन्न हुन लागेको पनडुब्बीको बाहिरी संरचना स्पष्ट देखिएको छ ।

उत्तर कोरियाको आधिकारिक सञ्चारमाध्यम ‘केसीएनए’का अनुसार सर्वोच्च नेता किम जोङ उनले आठ हजार ७०० टन क्षमताको उक्त आणविक पनडुब्बी निर्माण भइरहेको शिपयार्डको निरीक्षण गर्नुभएको हो । किमले यसलाई उत्तर कोरियाली नौसेनाको आधुनिकीकरण र आणविक प्रतिरोध क्षमताका लागि ‘ऐतिहासिक कदम’ भन्नुभएको छ ।

निरीक्षणका क्रममा किम जोङ उनले दक्षिण कोरिया र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा आलोचना गर्नुभयो । दक्षिण कोरियाले अमेरिकी समर्थनमा आफ्नै आणविक पनडुब्बी बनाउने प्रयास गरिरहेको उल्लेख गर्दै किमले त्यसलाई उत्तर कोरियाको सुरक्षामाथिको ‘आक्रामक कार्य’ को संज्ञा दिनुभयो । उहाँले अमेरिका र दक्षिण कोरियाको यस्ता योजनाले नै आफूहरूलाई नौसैनिक शक्ति र आणविक हतियार अझ सशक्त बनाउन बाध्य पारेको दाबी गर्नुभयो ।

सार्वजनिक तस्बिरहरूमा किमले आफ्नी छोरी र वरिष्ठ अधिकारीहरूसँगै विशाल जहाजको अवलोकन गरिरहेको देखिन्छ । दक्षिण कोरियाका रक्षा विशेषज्ञ मुन केउन–सिकका अनुसार पनडुब्बीको बाहिरी भाग तयार देखिनुको अर्थ यसभित्र मुख्य प्रणाली र रियाक्टरहरू जडान भइसकेको सङ्केत हो । विज्ञहरूले यो पनडुब्बी आगामी केही महिनाभित्रै सामुद्रिक परीक्षणका लागि तयार हुने अनुमान गरेका छन् ।

आणविक पनडुब्बी निर्माण गर्ने लक्ष्य किमले सन् २०२१ मै घोषणा गर्नुभएको सैन्य रणनीतिको एक हिस्सा हो । यो पनडुब्बी पानीमुनि लामो समयसम्म लुकेर बस्न र आणविक मिसाइल प्रहार गर्न सक्षम हुने बताइएको छ, जसलाई क्षेत्रीय सुरक्षाका लागि ठूलो चुनौती मानिएको छ ।

अन्तर्राष्ट्रिय प्रतिबन्धका बीच उत्तर कोरियाले यस्तो जटिल प्रविधि कसरी हासिल गर्‍यो भन्ने विषयमा विश्वभर चासो बढेको छ । कतिपय विश्लेषकहरूले उत्तर कोरियाले रुससँगको पछिल्लो सैन्य सहकार्यमार्फत प्राविधिक सहयोग पाएको हुन सक्ने आशङ्का गरेका छन् ।