ट्राफिक प्रहरीद्वारा फेला पारिएका ६० वटा मोटरसाइकल र स्कुटर धनीलाई हस्तान्तरण
काठमाडौँ, ११ पुस । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न समयमा चोरी भएका ६० वटा दुईपाङ्ग्रे सवारीसाधन फेला पारी शुक्रबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा आयोजित एक कार्यक्रमका बीच ती सवारीसाधन बुझाइएको हो ।
उपत्यका प्रहरी प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) ईश्वर कार्की र उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारीले संयुक्त रूपमा ३४ वटा मोटरसाइकल र २६ वटा स्कुटर सम्बन्धित धनीहरूलाई हस्तान्तरण गर्नुभयो ।
ट्राफिक प्रहरीका अनुसार गत साउन महिनायता मात्रै चोरी भएका १८१ वटा सवारीसाधन फेला पारी धनीको जिम्मा लगाइसकिएको छ । एसएसपी अधिकारीले राससलाई दिएको जानकारी अनुसार, चोरीमा संलग्न २५ जनालाई १३ वटा दुईपाङ्ग्रे सवारीसाधनसहित नियन्त्रणमा लिई आवश्यक कानुनी कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा वृत्तहरूमा पठाइएको छ ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीका अनुसार, प्रहरीले सवारीसाधन खोजतलास कार्यलाई तीव्रता दिएको छ । तथ्याङ्क अनुसार चालु आर्थिक वर्षमा ४१७ वटा र गत आर्थिक वर्ष २०८१/८२ मा ५०३ वटा दुईपाङ्ग्रे सवारीसाधन फेला पारी धनीलाई बुझाइएको छ ।
सवारीसाधन चोरी हुने क्रम बढेसँगै प्रहरीले सुरक्षा सतर्कता अपनाउन र सवारीसाधन हराएमा तत्काल जानकारी दिन सर्वसाधारणलाई अपिल गरेको छ । ट्राफिक प्रहरीले आफ्नो सवारीसाधन हराएमा वा चोरी भएमा तत्काल हटलाइन नम्बर १०३, नेपाल प्रहरीको नम्बर १०० मा फोन गर्न वा नजिकको प्रहरी कार्यालयमा लिखित निवेदन दिन अनुरोध गरेको छ ।
पछिल्लो समय प्रविधिको प्रयोग र सादा पोसाकका प्रहरीको सक्रियताका कारण चोरी भएका सवारीसाधन फेला पर्ने दरमा वृद्धि भएको ट्राफिक प्रहरीको दाबी छ ।