वैदेशिक रोजगारीको प्रलोभन देखाई ठगी गर्ने तीन जना पक्राउ

काठमाडौँ, ११ पुस । वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाइदिने भन्दै लाखौँ रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार उनीहरूलाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेहरूमा काठमाडौँ चन्द्रागिरि–४ की ३७ वर्षीया ममता श्रेष्ठ, काभ्रेपलाञ्चोक पाँचखाल–६ का ३० वर्षीय सरोज पोख्रेल र दोलखा भिमेश्वर–७ का ४९ वर्षीय डम्बरबहादुर तामाङ रहेका छन् ।

कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) काजीकुमार आचार्यका अनुसार उनीहरूले पीडितहरूबाट ठुलो रकम असुलेर विदेश नपठाई सम्पर्कविहीन भएका थिए । पक्राउ परेकी ममता श्रेष्ठले क्यानडा पठाउने भन्दै २३ लाख रुपैयाँ ठगी गरेको उजुरी परेको छ । त्यस्तै, सरोज पोख्रेलले युएई पठाउने भन्दै ३ लाख ६४ हजार र डम्बरबहादुर तामाङले रोमानिया पठाउने भन्दै ६ लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।

काठमाडौँका विभिन्न स्थानबाट पक्राउ परेका उनीहरूलाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि आजै वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको छ ।