पखेर–बरङ्जा सडक स्तरोन्नति अन्तिम चरणमा: ९२ प्रतिशत काम सम्पन्न

म्याग्दी, १२ पुस । म्याग्दीको मङ्गला गाउँपालिका–३ र ४ लाई सदरमुकाम बेनीसँग जोड्ने पखेर–बरङ्जा सडक स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको छ । गण्डकी प्रदेश सरकारको लगानीमा सञ्चालित यस योजनाको हालसम्म ९२ प्रतिशत भौतिक प्रगति भएको छ ।

पूर्वाधार विकास कार्यालय म्याग्दीमार्फत आर्थिक वर्ष २०८०/८१ देखि सुरु भएको यस योजना अन्तर्गत ३ किलोमिटर ५०० मिटर सडक ग्राभेल र ढलान गर्ने कार्य भइरहेको छ । एनके–युनाइटेड जेभीले ५ करोड ८६ लाख ३ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको यस योजनाको वित्तीय प्रगति ८५ प्रतिशत रहेको कार्यालयका प्रमुख सिनियर डिभिजनल इञ्जिनियर डा. महेन्द्र बानियाले जानकारी दिनुभयो ।

१८ महिनाको ठेक्का अवधि रहेको यो योजना निर्धारित समयभित्रै सम्पन्न हुने लक्ष्य रहेको डा. बानियाले बताउनुभयो । वि.सं. २०६६ मा मार्ग खुलेको यो सडकलाई अहिले ७ मिटर फराकिलो बनाइएको छ भने नाली, टेवा पर्खाल र अप्ठ्यारो उकालो खण्डमा ५५० मिटर सडक ढलान गरिएको छ ।

सडक स्तरोन्नति भएपछि बरङ्जादेखि बेनी पुग्न लाग्ने समय एक घण्टाबाट घटेर ३० मिनेटमा सीमित भएको छ । स्थानीय बासिन्दा मिलन रोकाका अनुसार सडक फराकिलो भएपछि गाउँमै १० चक्के ट्रकहरू आउन थालेका छन् । यसले बरङ्जामा उत्पादित दूध, सुन्तला र तरकारी बजारसम्म पुर्‍याउन निकै सहज बनाएको छ ।

शुक्रबार सो सडकको अनुगमन गर्नुभएका गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले यो सडक बागलुङको ताराखोलासम्म जोड्ने महत्त्वपूर्ण मार्ग भएको बताउनुभयो । उहाँले सडकको बाँकी खण्ड स्तरोन्नतिका लागि बजेट व्यवस्थापन गर्न सरकारसँग पहल भइरहेको जानकारी दिनुभयो । १७ वर्षपछि सडकको अवस्था सुधारिएकोमा बरङ्जावासी उत्साहित देखिएका छन् ।