अवैध क्रसरका कारण विपी राजमार्ग र रोशी क्षेत्र जोखिममा: स्थानीयद्वारा कडा आन्दोलनको चेतावनी
काभ्रे, १६ पुस । काभ्रेपलाञ्चाेककाे रोशी गाउँपालिकामा सञ्चालित अवैध क्रसर उद्योगका कारण विपी राजमार्ग र स्थानीय बस्तीहरू पहिरोको उच्च जोखिममा परेको भन्दै स्थानीय बासिन्दाहरू आन्दोलित भएका छन्।
रोशी खोला वातावरण संरक्षण सङ्घर्ष समितिले बुधबार रोशी खोला क्षेत्रमा पत्रकारहरूसँग अन्तरक्रिया गर्दै प्राकृतिक दोहन नरोकिए कडा सङ्घर्षमा उत्रिने चेतावनी दिएका हुन् ।
सङ्घर्ष समितिका अनुसार विपी राजमार्गको जग नै खल्बलिने गरी दिनरात अवैध रूपमा ढुङ्गा, गिट्टी र बालुवा उत्खनन भइरहेको छ। गत असोज १२ गतेको भीषण वर्षा र पहिरोले पुर्याएको क्षतिबाट तङ्ग्रिन नपाउँदै क्रसर उद्योगहरूको जथाभावी उत्खननले पहाडहरू छियाछिया भई धाजा फाटेका छन्। यसले गर्दा वर्षायाममा मात्र नभई हिउँदमा समेत सुक्खा पहिरो जान सक्ने जोखिम बढेको स्थानीयको भनाइ छ।
सङ्घर्ष समितिका अध्यक्ष प्रेमध्वज लामाले पहुँचवाला व्यक्तिहरूका कारण स्थानीय पालिकाले क्रसर उद्योगहरूलाई नियन्त्रण गर्न नसकेको आरोप लगाउनुभयो। उहाँले पूर्वमन्त्री तीर्थ लामा र गणेश लामा जस्ता प्रभावशाली व्यक्तिहरूले पैसा र शक्तिको पहुँचमा अवैध रूपमा उद्योग सञ्चालन गरिरहेको र यसले स्थानीय जनतामाथि अन्याय भएको दाबी गर्नुभयो।
“हामीले पटक–पटक पालिकासँग गुनासो गर्याै, तर सुनुवाइ भएन। क्रसरले न रोजगारी दिएको छ, न त वातावरणको ख्याल नै राखेको छ, केवल धुलो र पहिरो उपहार दिएको छ,” लामाले भन्नुभयो। धुलोका कारण खेतीपाती र जनस्वास्थ्यमा गम्भीर असर परेको तथा बस्तीहरू बस्न अयोग्य हुँदै गएको समितिले जनाएको छ।
त्यस्तै स्थानीय ज्ञान बहादुर लामाले क्रसरका कारण हिउँदमा स्थानीय जनसमुदायमा वातावरण धुलाम्य भएर बस्नै नसकिने अवस्था रहेकाे छ भने वर्षामा पहिराेकाे उच्च जाेखिम रहेकाे बताएका छन् ।
स्थानीयले पटक पटक गाउँपालिकामा लिखित निवेदन दिएर गुनासाे गर्दा पनि पावर र पहुँचका कारण पालिकाले वास्ता नगरेका कारण मिडियामा आउनुपरेकाे बताएका छन् ।
पत्रकार भेटघाटका क्रममा समितिले अब पनि माग सुनुवाइ नभए गाउँपालिका, प्रदेश सरकार र सङ्घीय सरकारसम्म पुगेर निर्णायक सङ्घर्ष घोषणा गरेको छ।