विशेष महाधिवेशनको तयारीले कांग्रेसमा खैलाबैला : देउवाले बोलाए शीर्ष नेतालाई

काठमाडौँ, १८ पुस । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको तयारी तीव्र पारेपछि सभापति शेरबहादुर देउवा दबाबमा परेका छन् ।

पार्टीभित्र विकसित पछिल्लो घटनाक्रम र महामन्त्रीद्वयको रणनीतिबारे साझा धारणा बनाउन सभापति देउवाले शुक्रबार बिहानै पार्टीका शीर्ष नेताहरूलाई छलफलका लागि बोलाएका छन् ।

देउवाले कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित संस्थापन पक्षका प्रभावशाली नेताहरूलाई महाराजगञ्जस्थित आफ्नै निवासमा बोलाएका हुन् । बिहान ९ बजेपछि सुरु हुने भनिएको उक्त छलफलमा पार्टीको आन्तरिक विवाद र विशेष महाधिवेशन रोक्ने उपायबारे मन्थन हुने बुझिएको छ ।

कार्यवाहक सभापति खड्का निकट स्रोतले भन्यो, “सभापतिज्यूले समसामयिक विषयमा परामर्शका लागि बोलाउनुभएको हो । केही बेरमा हामी निवास पुग्दैछौँ ।”

राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा तय भएको वडा अधिवेशन प्रभावित भएपछि महामन्त्रीद्वय थापा र शर्माले बिहीबार विज्ञप्ति जारी गर्दै नियमित अधिवेशन स्थगन भएको घोषणा गरेका थिए । उनीहरूले पुस २७ गते विशेष महाधिवेशन गर्ने भन्दै त्यसका लागि भृकुटीमण्डपसमेत बुकिङ गरिसकेका छन् ।

पार्टी विधान र पद्धति मिचिएको आरोप लगाउँदै महामन्त्रीद्वयले चालेको यो कदमलाई देउवा समूहले ‘विद्रोह’का रूपमा हेरेको छ ।

देउवाले आफ्ना निकटस्थहरूसँग छलफल गरेलगत्तै आजै दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ । मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार सो बैठकमा पार्टीको आगामी कार्यदिशा र महामन्त्रीहरूले अघि सारेको विशेष महाधिवेशनको एजेन्डाबारे औपचारिक छलफल हुनेछ ।