धार्मिक सद्भाव भड्किने जोखिमपछि वीरगञ्जमा निषेधाज्ञा, ४ स्थानमा सभा–जुलुस गर्न रोक

वीरगञ्ज, २१ पुस । धार्मिक सद्भाव भड्किन सक्ने जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्जका विभिन्न स्थानमा निषेधाज्ञा जारी गरेको छ ।

धनुषामा भएको मस्जिद तोडफोडको घटनालाई लिएर वीरगञ्जमा दुई पक्षबीच तनाव बढ्ने सङ्केत देखिएपछि प्रशासनले आज दिउँसो १ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेको हो ।

पर्साका प्रमुख जिल्ला अधिकारी (सीडीओ) भोला दाहालद्वारा जारी आदेशअनुसार वीरगञ्जका मुख्य चार नाका र चोकहरूलाई निषेधित क्षेत्र तोकिएको छ । प्रशासनले वीरगञ्जको बसपार्क, सिर्सिया पुल, पावर हाउस चोक र शङ्कराचार्य गेट आसपासका क्षेत्रमा अर्को सूचना जारी नभएसम्मका लागि सभा, भेला, जुलुस तथा प्रदर्शन गर्न पूर्ण रोक लगाएको छ ।

धनुषाको घटनाको विरोधमा आज बिहानैदेखि वीरगञ्जमा हिन्दूवादी सङ्गठनहरूले प्रदर्शन गरेका थिए । त्यसलगत्तै मुस्लिम समुदायले पनि प्रतिवाद स्वरूप प्रदर्शनको तयारी गरेपछि दुई समुदायबीच सम्भावित झडप रोक्न र शान्ति सुरक्षा कायम राख्न प्रशासनले यो कदम चालेको हो ।

प्रशासनले सामाजिक सद्भाव खल्बलिन नदिन र शान्ति सुरक्षामा खलल पुग्ने कुनै पनि गतिविधि नगर्न सर्वसाधारणमा अपिल गरेको छ । निषेधाज्ञा जारी गरिएका क्षेत्रहरूमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।