पश्चिमी वायुको प्रभाव: चार प्रदेशमा वर्षा र हिमपातको सम्भावना, तराईमा कुहिरोको सास्ती
काठमाडौँ, २२ पुस । हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले पहाडी तथा हिमाली क्षेत्रको मौसममा फेरबदल आएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज चारवटा प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
महाशाखाले आज बिहान जारी गरेको बुलेटिनअनुसार कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना छ । ती प्रदेशका पहाडी भेगमा आंशिक बदली रहे पनि बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहनेछ ।
यता तराईका अधिकांश स्थानहरूमा आज दिनभरि नै हुस्सु र कुहिरो लाग्ने सम्भावना छ । हुस्सुका कारण जनजीवन र यातायातमा प्रभाव पर्न सक्ने भन्दै सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
आज राति पनि कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी भेगमा मौसम आंशिक बदली रही एक-दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ । चिसो अझै बढ्न सक्ने देखिएकाले आवश्यक सावधानी अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन् ।