प्रतिनिधिसभा निर्वाचनका लागि रामेछाप एमालेद्वारा ८ जना आकाङ्क्षीको नाम केन्द्रमा सिफारिस

रामेछाप, २२ पुस । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले) रामेछापले उम्मेदवारका आठ जना आकाङ्क्षीको नाम केन्द्रमा सिफारिस गरेको छ । मङ्गलबार बसेको पार्टी जिल्ला कमिटीको छैटौँ पूर्ण बैठकले दाबी प्रस्तुत गर्ने सबै नेताहरूको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।

एउटै निर्वाचन क्षेत्र रहेको रामेछापमा प्रतिनिधिसभा उम्मेदवारका लागि पूर्वपोलिटब्युरो सदस्य कमलप्रसाद चौलागाईँ, केन्द्रीय सदस्यहरू माधव ढुङ्गेल र गीता कार्की, वाग्मती प्रदेश अध्यक्ष कैलाशप्रसाद ढुङ्गेल, प्रदेश सदस्यहरू रत्नप्रसाद गौतम, शान्तिप्रसाद पौडेल, परशुराम बस्नेत र पूर्व प्रदेश सदस्य केशर बुढाथोकीले दाबी प्रस्तुत गर्नुभएको छ । जिल्ला सचिव प्रकाशकुमार कार्कीका अनुसार आकाङ्क्षी धेरै भएपछि सबैको नाम केन्द्रमा पठाइएको हो ।

जिल्ला अध्यक्ष पुरुषोत्तम कडरियाको अध्यक्षतामा भएको बैठकले पुस २५ देखि माघ ३ गतेसम्म जिल्लाभर टोल केन्द्रित ‘विशेष अभियान’ सञ्चालन गर्ने निर्णयसमेत गरेको छ । अभियानका क्रममा जिल्लाका ४ सय ९५ टोलमै पुगेर मतदाताको अवस्था बुझ्ने र पार्टी सङ्गठन सुदृढ गर्ने लक्ष्य राखिएको छ ।

बैठकमा बोल्दै अध्यक्ष कडरियाले पार्टीमाथि भइरहेको चौतर्फी घेराबन्दी र संविधानमाथिको आक्रमणका विरुद्ध टोल तहसम्मै पुगेर निर्वाचन केन्द्रित प्रचार गर्ने बताउनुभयो । बैठकले हालै नवनिर्वाचित केन्द्रीय सदस्यहरू माधव ढुङ्गेल र गीता कार्कीलाई बधाई तथा शुभकामना समेत व्यक्त गरेको छ ।