पञ्चकन्या आधारभूत विद्यालयका विद्यार्थीलाई लायन्स क्लबद्वारा शैक्षिक सामग्री र न्यानो कपडा वितरण

सिन्धुपाल्चोक, २६ पुस । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–९ ज्यामिरेस्थित पञ्चकन्या आधारभूत विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक तथा राहत सामग्री वितरण गरिएको छ ।

डिष्ट्रिक्ट ३२५ एफ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौँ शुभ ताराले अध्यक्ष राजेश हिमालयकाे अगुवाइमा एक कार्यक्रमका बीच विद्यार्थीहरूलाई विभिन्न न्यानाे सामग्रीसहितकाे स्टेसनरी सहयोग गरेको हो ।

विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई स्कूल ब्याग, ऊनीको टोपी, पानी खाने बोतल र कापी–कलम लगायतका शैक्षिक सामग्रीहरू प्रदान गरिएको छ । चिसो मौसमलाई लक्षित गरी टोपी र विद्यालय जान सहज होस् भन्ने उद्देश्यले झोला वितरण गरिएको हिमालयले जनाएको छ ।

सामग्री वितरण कार्यक्रममा वडा नम्बर ९ का वडाध्यक्ष किरणदीप खड्का, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लिलाबहादुर तामाङ र प्रधानाध्यापक नेत्रबहादुर अधिकारीको विशेष उपस्थिति रहेको थियो । वडाध्यक्ष खड्काले विद्यार्थीहरूको शैक्षिक प्रगतिका लागि सामाजिक संस्थाहरूले देखाएको यो चासो प्रशंसनीय रहेको बताउनुभयो ।

कार्यक्रममा लायन्स क्लबका तर्फबाट सुशीला श्रेष्ठ, आदित्य जोशी, आकाश श्रेष्ठ, अमृत घले, मेरिना केसी पहाडी, रमिला प्रधान श्रेष्ठ, लोकनाथ पौडेल र मधुकर श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।
दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई प्रोत्साहन मिलोस् र उनीहरूको पठनपाठनमा सहयोग पुगोस् भन्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको क्लबका प्रतिनिधिहरूले जानकारी दिएका छन् । सामग्री पाएपछि विद्यार्थी तथा अभिभावकहरूले खुसी व्यक्त गरेका छन् ।