बैतडी जिप दुर्घटना अपडेट : मृतकको सङ्ख्या ४ पुग्यो, ६ जनाको उपचार हुँदै
बैतडी, २८ पुस । जयपृथ्वी राजमार्ग अन्तर्गत बैतडीको पाटन नगरपालिका–८ साडीघाटीमा सोमबार बिहान भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । डडेल्धुरा अस्पतालमा उपचाररत थप एक घाइतेको मृत्यु भएसँगै मृतकको सङ्ख्या चार पुगेको हो ।
बैतडीका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक सुरजसिंहका अनुसार उपचारका क्रममा सिगास गाउँपालिका–१ की २७ वर्षीया बसन्ती ऐरको डडेल्धुरा अस्पतालमा निधन भएको हो । यसअघि दुर्घटनास्थलमै तीन जनाको मृत्यु भएको थियो ।
मृत्यु हुने अन्यमा सिगास गाउँपालिका–१ का २४ वर्षीय निशान्त बोहरा, सोही ठाउँका २९ वर्षीय भानदेव भट्ट र डडेल्धुराको आलिताल गाउँपालिका–३ का १३ वर्षीय राकेश रावल रहेका छन् ।
मोतिनगरबाट डडेल्धुरातर्फ जाँदै गरेको म १ ज २२४ नम्बरको बोलेरो जिप आज बिहान ११ बजे अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खसेको थियो ।
दुर्घटनामा चालकसहित अन्य ६ जना घाइते भएका छन् । घाइते हुनेहरूमा सिगास–१ की १९ वर्षीया बिमला ऐर, ४ वर्षीया प्रन्सा ऐर, २५ वर्षीय लालमणि बोहरा, चालक २८ वर्षीय गणेश विष्ट, पाटन–८ की २५ वर्षीया कमला विष्ट र डडेल्धुरा आलिताल–३ का ३२ वर्षीय वीरेन्द्र बोहरा रहेका छन् । घाइते सबैको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनाको कारणबारे अनुसन्धान सुरु गरेको छ । तीव्र गति वा प्राविधिक गडबडीका कारण जिप अनियन्त्रित भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।