विभाजनको सङ्कटबीच कांग्रेस केन्द्रीय समिति बैठक जारी: संस्थापन पक्षद्वारा इतर समूहका सर्त अस्वीकार

काठमाडौँ, ३० पुस । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेर पार्टी विभाजनको सङ्घारमा उभिएका बेला ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा केन्द्रीय कार्यसमितिको बैठक जारी छ ।

संस्थापन पक्षका नेताहरू पार्टीलाई विभाजनबाट जोगाउने र इतर पक्षको दबाबलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा घनिभूत छलफलमा जुटेका छन् ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा नेतृत्वको समूहले विशेष महाधिवेशनमार्फत नेतृत्व परिवर्तनको प्रक्रिया अघि बढाएपछि पार्टीभित्रको समीकरण पेचिलो बनेको हो । दुई दिनदेखि पार्टीलाई फुटबाट जोगाउन विभिन्न तहमा संवाद भए पनि अहिलेसम्म ठोस सहमति जुट्न सकेको छैन ।

विशेष महाधिवेशन पक्षधर (गगन–विश्व समूह) ले सहमतिका लागि संस्थापन पक्षसमक्ष ८ बुँदे प्रस्ताव अघि सारेको थियो । उक्त प्रस्तावमा आगामी निर्वाचनका लागि गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्नुपर्ने र सभापति शेरबहादुर देउवाले सक्रिय भूमिकाबाट हात झिक्नुपर्ने (निष्क्रिय रहनुपर्ने) लगायतका सर्तहरू राखिएका थिए ।

तर, संस्थापन पक्षले ती प्रस्तावहरूलाई ठाडै अस्वीकार गरिदिएको छ । विशेष गरी गगन थापालाई चुनावअघि नै प्रधानमन्त्रीको उम्मेदवार तोक्ने विषयमा संस्थापन पक्षका तर्फबाट उपसभापति पूर्णबहादुर खड्काले असहमति जनाउनुभएको छ । संस्थापन पक्षले अहिले नै प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दा पार्टीभित्र थप जटिलता आउने तर्क अघि सारेको छ ।

इतर समूहले आफ्ना माग पूरा नभए कडा कदम चाल्ने सङ्केत दिएपछि देउवा पक्ष रक्षात्मक देखिएको छ । सानेपामा जारी बैठकमा संस्थापन पक्षका केन्द्रीय सदस्यहरूले अबको सम्भावित रणनीति र पार्टीको वैधानिक अस्तित्व जोगाउने विषयमा धारणा राखिरहेका छन् ।